सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने

एमाले पार्टी कार्यालय पुगेर शीर्ष नेताले दिए श्रद्धाञ्जलि, बिहीबार सार्वजनिक बिदा

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 20 mins

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा निधन हुनुभएका संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट मंगलबार सिधै नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा लगिएको थियो । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि दिनभर पार्टी कार्यालमै राखिएको थियो । नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङप्रति राजनीतिक दलका शीर्ष नेताहरूले एमाले पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवन पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, झलनाथ खनाल लगायतका शीर्ष नेताहरूले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरू र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जलि दिएका छन् ।

अन्त्येष्टि बिहीबार, आज १ बजेपछि पार्थिव शरीर घरमा राखिने
नेम्वाङको अन्त्येष्टि बिहीबार मात्रै गरिने भएको छ । एमालेका उपमहासचिवसमेत रहनुभएका नेता प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपरान्ह मात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिने जानकारी दिनुभएको हो । ज्ञवालीका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ भने त्यसपछि नेम्वाङको निवासमा लगिनेछ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ । नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिनेछ ।

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिनुभयो । संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको मन्त्री किराँतीले जानकारी दिनुभयो । त्यस्तै, सरकारले नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभएको छ । सो दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उनीहरू आउँदै गरेकाले अन्त्येष्टि हुने दिन बिदा दिने निर्णय भएको हो ।

एमालेको औपचारिक कार्यक्रम स्थगित, पार्टीको झण्डा तीन दिन झुकाइने
नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय एमालेले गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको बैठकपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार देशका सबै पार्टी कार्यालयहरूमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णयसमेत भएको छ । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र इलामको पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राखिने ज्ञवालीले जानकारी दिनुभयो ।

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको हो । उहाँले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेम्वाङको निधनको खबरले मर्माहत छु : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवले लेख्नुभएको छ, ‘संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको अप्रत्याशित निधनको खबरले मर्माहत र स्तब्ध छु । उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

राष्ट्रलाई अपूरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै लेख्नुभएको छ, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, ‘नेम्वाङको असामयिक निधनले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत सभापति देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै लेख्नुभएको छ, ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

ADVERTISEMENT

सहमति र समझदारीको हिमायती : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवास नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रूपमा चित्रण गर्नुभएको छ । अध्यक्ष नेपालले उहाँले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत बताउनुभयो । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महान् हस्ती भएको उल्लेख गर्दै नेपालले कुनै पनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैँभरि लागिरहेको उल्लेख गर्नुभयो ।

सुखदुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङले लोकतान्त्रिक संविधान निर्माणमा पु¥याएको योगदान सधैँ सम्झिने बताउनुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहनेछौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जलि । उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जलि सुवासजी ।’

पार्टी विभाजनप्रति निकै दुःखी हुनुहुन्थ्यो : नेता खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ । शोक वक्तव्य निकाल्दै खनालले नेम्वाङ आफ्नो सातौँ कक्षादेखिको सहपाठी भएको स्मरण गर्नुभएको छ । खनालले आफूहरू कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको पनि स्मरण गर्नुभयो । पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरूको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले लेख्नुभएको छ, ‘पार्टी विभाजन भएको प्रति उहाँ निकै दुःखी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ ? भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दुःखद निधन भएको छ ।’

मुलुकले क्षति व्यहोर्‍यो : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताउनुभएको छ । एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको भन्दै सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु ।’

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताउनुभएको छ । एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै घिमिरेले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै भन्नुभयो, ‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

विवाद निरूपण गर्ने शैली अनुशरणयोग्य : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँको अनुकरणीय भूमिका रहेको उल्लेख गर्दै तिमिल्सिनाले भन्नुभयो, ‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहत भएको छु । २०६२÷०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहनेछ ।’

समृद्ध नेपाल निर्माणमा भूमिका अनुकरणीय : अमेरिकी राजदूत थम्पसन
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत राजदूत थम्पसनले लोकतान्त्रिक एवं समृद्ध नेपाल निर्माणमा नेम्वाङको भूमिका अनुकरणीय रहेको बताउँदै लेख्नुभएको छ, ‘संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले दुःखी तुल्याएको छ । लोकतान्त्रिक एवं समृद्ध नेपाल निर्माणमा उहाँको भूमिका धेरैका लागि अनुकरणीय छ ।’

प्रतिनिधिसभा बैठक सर्‍यो
भदौ २७ गतेका लागि बोलाएको प्रतिनिधिसभा बैठक भदौ २८ गते बस्ने गरी सरेको छ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्ने गरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बैठक बस्ने दिन र समय परिवर्तन भएको जानकारी दिनुभयो । गौतमका अनुसार बैठक भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्नेछ । उक्त बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ । यसैबीच, नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । संविधानसभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित बिपी साहित्य महोत्सव-२०८० का तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?