बीपी व्यक्तित्व र प्रभाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 15 mins

✍️ गोकर्ण अर्याल

नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको जन्मजयन्तीका कार्यक्रमहरू हरेक वर्ष औपचारिक रूपमै सीमित हुँदै आएकोमा यो पटक भने कांग्रेस पार्टीको तर्फबाट अलि फरक ढंगबाट बीपी जयन्तीका कार्यक्रम तय गरेको पाइयो । बीपी साहित्य महोत्सव नाम दिइएको यस कार्यक्रम भदौ २४ गते बीपीको जन्मदिनदेखि ३ दिनसम्म आयोजना गरिने छ । विभिन्न सत्रमा सञ्चालन हुने कार्यक्रमको सूचीमा मनोविश्लेषणत्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सवाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपी का आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक समावेशीता र बीपी, युवा स्रष्टामा बीपी पठन, परिवारले बुझेको बीपीलगायत विषयमा विशद चर्चा परिचर्चा हुनेछ ।

कांग्रेसको मुख्यालय सानेपामा हुने यी कार्यक्रमका अन्य सत्रमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला, वृत्तचित्र र ऐतिहासिक तस्वीरहरूको प्रदर्शनीका साथै केही महत्वपूर्ण संभाषणसमेत हुनेछन् । वास्तवमा साहित्यको माध्यमबाट पनि बीपीले राष्ट्र प्रेम र मानवीय सेवाको भावना प्रस्तुत गर्नुभएको छ । यस कारण उहाँको समग्र जीवनमा बहुआयामिक पक्ष र पाटा जोडिएका छन् । बीपीको साहित्यिक, राजनीतिक र दार्शनिक पक्षले नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउन ठूलो ऊर्जा र प्रेरणा प्रदान गरेको छ । राजनीतिक र साहित्यिक दुवै विधामा समानन्तर रूपमा अगाडि देखिनु भएका बीपीले समाजमा हुने राजनीतिक तथा अन्य गतिविधि र प्रवृत्तिलाई साहित्यमार्फत् प्रकट गर्नुभएको छ ।

वास्तवमा बीपीको सिंगो जीवन राजनीतिक, आर्थिक, साहित्यिक, सामाजिक सांस्कृतिक र दार्शनिक पक्षसँग गाँसिएको छ । बीपीका बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा परिचर्चा भए पनि उहाँकै सच्चा अनुयायी भन्नेहरूले नै बीपीलाई दिलैदेखि सम्झिन सकिरहेका छैनन् । 

उहाँले आफ्ना साहित्यिक कृतिहरूमा मानवीय स्वतन्त्रता र अस्तित्वको खोजी कृतिका पात्रहरूमार्फत् गराउनु भएको छ । पञ्चायत कालमा बीपीका कृति जलाउनेहरू बीपीको व्यक्तित्वबाट झस्किने र तर्सिनेहरू नै थिए । अन्ततः यसैको परिणाम जनताबाट निर्वाचित पहिलो सरकारका प्रधानमन्त्री बीपी कोइरालाले लामो समय जेलको कष्टसमेत व्यहोर्नु प¥यो । तत्कालीन राजा महेन्द्रले मुलुकको स्वतन्त्रता खोसेर नेपाली जनताको लोकप्रिय नेतालाई जेलको कोठरीमा राखे पनि साहित्यमार्फत बीपीले त्यसको प्रतिवाद गरिरहनु भयो । उहाँको यही प्रतिबद्धता र अठोटले निरंकुशतालाई झुक्न बाध्य पनि गरायो । यी अठोट र संघर्षका बीच उहाँले मानिस ठूलो होइन असल बन्नुपर्दछ भन्ने सन्देश दिनुभएको छ । आज ठूलो बन्ने होडमा रहेको राजनीतिक समाजले यसको अलिकता हेक्का गर्ने अवस्था बन्यो भने पनि बीपीलाई अनुशरण गरेको ठहर्नेछ ।

वास्तवमा बीपीको सिंगो जीवन राजनीतिक, आर्थिक, साहित्यिक, सामाजिक सांस्कृतिक र दार्शनिक पक्षसँग गाँसिएको छ । बीपीका बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा परिचर्चा भए पनि उहाँकै सच्चा अनुयायी भन्नेहरूले नै बीपीलाई दिलैदेखि सम्झिन सकिरहेका छैनन् । भाषणमा बीपीका आदर्श गुणका चर्चा गरे पनि व्यवहारमा लागू गर्न कोही तयार छैन । उहाँका अनुयायीहरू बीपीको समाजवादी नीतिको चर्को स्वरमा चर्चा गर्दछन् तर व्यवहार र चरित्रमा देखिँदैनन् । यी सबै क्षेत्रमा बीपीका सोच, विचार र दृष्टिकोण अम्बल रूपमा हेरिए पनि यतिबेला उहाँले बोकेको सोच र चिन्तन अनुरूप मुलुक चलेको छैन । किन ? पार्टी नीति विचार र सिद्धान्तमा भन्दा सत्ता र स्वार्थको राजनीतिमा आकर्षित भएर त होइन ?

२०१५ सालको आम निर्वाचनमा दुई तिहाइ मत प्राप्त गर्नुमा बीपीको राजनीतिक सोच, चिन्तन र मुलुक परिवर्तनको स्पष्ट दृष्टिकोण प्रमुख कारण थियो । उहाँले नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीलाई चुनाव लड्न न कुनै दलसँग साझेदारी गर्न आवश्यक थियो, न त धन सम्पत्तिको आधारमा पार्टीले उम्मेदवार तय गर्न नै जरुरत नै थियो । पार्टीको विचार र सिद्धान्त बोकेर मतदाताबीच प्रस्तुत भएका उम्मेदवारहरू आ–आफ्ना क्षेत्रका मतदाताको घरदैलो पुगे, तिनै मतदाताले दिएको खस्रो मसिनो खाएर थोरै खर्चमा चुनाव जितेर आए । यसरी नै कांग्रेस जीवन्त र गतिशील बनेको थियो त्यतिबेला, जनताको मन जितेर मत लिने परिपाटीले नै कांग्रेसलाई बचाएको थियो ।

तर, यसरी प्रधानमन्त्री बन्नुभएका बीपी २०१७ साल पुस १ गते तत्काली राजा महेन्द्रको कूपछि पटक–पटक जेलनेल खेप्नुभयो । पञ्चायतले राजनीतिक आग्रहबाट बीपीलाई हे¥यो बुझ्यो र त्यही अनुरूप दुःख कष्ट र यातना दियो । वास्तवमा २०४६ को परिवर्तनपछि पनि बीपीको नीति र विचारलाई रूपमा हेर्ने मात्र काम भयो सारमा बीपीलाई बुझ्ने बुझाउने काम हुनसकेन । उहाँका नीति र सिद्धान्त बमोजिम देशको गति अगाडि बढ्न सकेन । अहिले बीपीलाई सम्झने मात्र काम भएको छ अनुशरण गर्ने काम भएको छैन । यो यथार्थलाई न कांग्रेसले बुझ्यो न मुलुकले नै ।

ADVERTISEMENT

बीपी जन्मजयन्तीका सन्दर्भमा उब्जिने प्रश्न के वर्षदिनमा एक पटक सम्झेर वा गुणगान गाएर बीपीप्रतिको अनुशरण वा सम्मान हुन्छ ? बीपीका राजनीतिक अनुयायीहरूले उहाँको राजनीतिक आदर्शलाई कुन रूपमा अनुशरण गरिरहेका छन् ? वर्तमान सन्दर्भमा बीपीका राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तनलाई कुन रूपमा कसरी परिभाषित गरिएका छन् ? यसको चिन्तन आजको राजनीतिले गरेको छ कि छैन ? यतिबेला बीपी विचारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले बीपीको राजनीतिक आदर्शलाई कुन रूपमा व्याख्या गरेको छ र त्यसको पालना कसरी भइरहेको छ भन्ने कुराको विचार विश्लेषण हुन जरुरी छ ।

हिजो बीपीलाई राजनीतिक रूपमा प्रमुख दुश्मन ठान्ने वा बीपीलाई फाँसी दिनुपर्दछ भन्ने राजनीतिक विचार बोकेकाहरूमा आज बुझ्ने सोच र विचारमा परिवर्तन देखिनु बीपीको राजनीतिक सोच र चिन्तन यथार्थमा आधारित थियो र छ भन्ने कुराको पुनर्पुष्टि गरेको छ ।

आज देशभरका स्वभिमान कांग्रेसजनहरू प्रश्न गरिरहेका छन् सत्ताको लागि बनाइएको गठबन्धन बीपीको कुन नीति र विचारसँग मेल खान्छ ? केही व्यक्तिहरू सत्तामा पुग्न र यश आरामका लागि मात्र नेपाली कांग्रेसको जन्म भएको हो र ? । बीपीको सोच र चिन्तन अनुरूप मुलुक किन अगाडि बढ्न सकेको छैन ? बीपीमा सबै नेपालीलाई आफू जस्तै मध्यम वर्गीय परिवार बनाउने सोच र चिन्तन थियो । सबै नेपालीका घरमा एउटा दुहुनो गाई होस, सबैका छोराछोरीले पढ्न लेख्न पाउने अवस्था बनोस, विरामी पर्दा सामान्य औषधिमूलो गर्नसक्ने अवस्था होस भन्ने सोच र चिन्तन बोक्नु भएका बीपीले १८ महिना देशको प्रधानमन्त्रीको पदमा रहदा देशलाई समृद्धको बाटोमा अगाडि बढाउने धेरै योजना र खाका तय गर्नुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगको बैठकमा योजनाविद्हरूलाई योजना आयोगको भित्तामा एउटा हलो जोतिरहेको किसानको तस्वीर राख्नु देशको योजना बनाउँदा त्यही हलो जोतिरहेको किसानलाई हेरेर देश विकासको योजना बनाउन सक्नुपर्दछ भनेर निर्देशन दिनुभएको थियो । बीपीको यो विचार वर्तमान सन्दर्भमा अझ विकसित रूपमा परिभाषित हुनसक्ला । तर, गरिब किसान र गाउँको विकासलाई केन्द्रमा राखेर मात्र देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने बीपीको परिकल्पना अहिले पनि सान्दर्भिक र यथार्थमा आधारित छ । जनसंख्याको ठूलो हिस्सा रहेको कृषि क्षेत्र र पेशालाई पर्गलेर मुलुकको परिवर्तन सम्भव पनि छैन । बीपीले अघि सार्नुभएका यी र यस्ता विषयमा कांग्रेस नेतृत्व कति गम्भीर छ र यो विषयलाई उहाँका अनुयायीहरूले कुन रूपमा कसरी बुझेका छन् भन्ने कुरा छलफल र बहसको विषय बन्नुपर्दछ ।

वास्तवमा बीपी आफ्नो राजनीतिक जीवनमा एक सिद्धान्तनिष्ठ र सच्चा राष्ट्रवादी नेताको रूपमा शतिसाल बनेर उभिइरहनुभयो । यसविपरीत जीवनभर कसैसँग कुनै किसिमको सम्झौता पनि गर्नुभएन । उहाँका यिनै आदर्श र निष्ठाले राणाशासन र पञ्चायती निरंकुशताको अन्त्य गरायो । यही विचार र दृष्टिकोण मुलुकलाई प्रजातान्त्रिक समाजवादको मार्गमा अघि बढाउने र समाज रूपान्तरण गर्ने नयाँ मार्गचित्र थियो । बीपी देश र दुनियाँ बुझेको सच्चा राष्ट्रवादी नेता हुनुहुन्थ्यो भन्ने कुरा उहाँले राष्ट्रियताको पक्षमा लिएका निर्णयहरूलाई हेरे, बुझे पुग्दछ ।

आफूमाथि लागेका सात-सातवटा फाँसीका मुद्दाको कुनै पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा प्रवास जीवन त्यागेर स्वदेश फर्किनु र देशभित्रै बसेर नागरिक हक अधिकारका लागि आफूलाई संघर्षमा उतार्नु उहाँको देशप्रतिको समर्पित भावना थियो । उहाँको त्यही संघर्षको जगले २०३७ सालमा जनमत संग्रह गरायो, यही संघर्षको निरन्तरताले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२, ६३ को जनआन्दोदन सफल हुनपुग्यो । बीपी एउटा राजनीतिक कालखण्डमा क्रूर यातना खेप्नु परे पनि विचार र दृष्टिकोणबाट सर्वकालिक व्यक्तित्वका रूपमा उभिन सफल भइरहनुभयो ।

यसै कारण हिजो बीपीलाई राजनीतिक रूपमा प्रमुख दुश्मन ठान्ने वा बीपीलाई फाँसी दिनुपर्दछ भन्ने राजनीतिक विचार बोकेकाहरूमा आज बुझ्ने सोच र विचारमा परिवर्तन देखिनु बीपीको राजनीतिक सोच र चिन्तन यथार्थमा आधारित थियो र छ भन्ने कुराको पुनर्पुष्टि गरेको छ । वास्तवमा बीपी एक खुला किताव अर्थात् दर्शन, जसले जसरी पनि बुझ्न र पढ्न सक्दछ । एउटा सामान्य मानिसले पनि आफ्नो तहबाट बीपीलाई जाने–बुझेको होला । उसले त्यसैको आधारमा बीपीप्रति सम्मान र आदर प्रकट गरिरहेको हुनसक्छ । त्यसभन्दा उपल्लो तहमा रहेर बीपीको राजनीतिक, साहित्यिक र दार्शनिक चेतलाई व्याख्या-विश्लेषण भइरेको होला । यसरी नै बीपी जीवनको रहस्य खुल्दै र प्रष्ट भइरहेको छ । सर्वकालिक व्यक्तित्व बीपीका विचार र सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयत्न गरेमा मुलुकको वास्तविक रूपान्तरण पनि सम्भव छ । aryalgokarna2017@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. अर्यालजी , सरल ,सवैले बुझ्न सकिने शिष्ट भाषामा बीपी विचार सुंदरढंगले प्रस्तुत गर्नु भयो | लेख लागि धन्यवाद |

रिलेटेड न्युज

छुटाउनुभयो कि ?