जननायक बीपीप्रति श्रद्धासुमन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

आज नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्ती । उहाँको अवसानको ४१ वर्ष बितिसकेको छ तर नेपाली जनमानसले उत्तिकै सम्मानका साथ उहाँको सम्झना गरिरहेको छ, कारण उहाँले छोडेर जानुभएको छाप हो । राजनीतिक होस् वा साहित्यिक योगदान उहाँको अमूल्य छ । पहिले भारतमा बसेर हिन्दीमा लेख्दालेख्दै मूर्धन्य साहित्यकार सूर्यविक्रम ज्ञवालीको सुझाबबाट नेपालीमा लेख्न थाल्नुभएका कोइरालाले शारदाको १९९२ सालको अंकमा ‘चन्द्रवदन’ शीर्षकको कथा लेखेर नेपाली साहित्यमा प्रवेश गर्नुभएको थियो । २००६ सालसम्म आइपुग्दा प्रकाशित भएका उहाँका १६ वटा कथाहरूको संग्रह ‘दोषी चश्मा’ प्रकाशित भयो । त्यसपछि व्यस्त राजनीतिक जीवनले उहाँको लेखनीमा लगभग विश्राम लाग्यो ।

एकै पटक प्रजातन्त्रमाथिको प्रतिबन्धपछि सुन्दरीजल बन्दीगृहमा रहेका बेला उहाँले एक दर्जन जति पुस्तक लेख्नुभयो । साहित्यलाई सकेसम्म राजनीतिबाट पृथक राख्न चाहने उहाँले आख्यानमा जोड दिनुभयो । कविताहरू पनि लेख्नुभएको छ तर फाट्टफुटमात्र । यौन मनोवैज्ञानिक कथा तथा उपन्यास लेख्ने बीपी कोइराला नेपाली आख्यान साहित्यका स्थापत्य हुनुहुन्छ । बन्दी जीवनमा उहाँका ‘श्वेत भैरवी’ कथासंग्रह, ‘आफ्नै कथा’ आत्मकथा, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘हिटलर र यहुदी’, ‘नरेन्द्र दाइ’, ‘मोदिआइन’ र ‘बाबु आमा र छोरा’ उपन्यास ‘जेल जर्नल’ र आत्मासंस्मरण’ ग्रन्थहरू प्रकाशित भएका छन् । हालका दिनहरूमा उहाँका ‘फेरि सुन्दरीजल’ लगायतका कृतिहरूसमेत प्रकाशित भएका छन् । उहाँको ‘शत्रु’ र पहिलो प्रकाशित ‘चन्द्रवदन’ कथा दुवै कथासंग्रहमा समेटिएका छैनन् ।

यसरी साहित्यका क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा दाँजिन सक्ने आख्यानकारका रूपमा उहाँ देखा पर्नु भएको छ । उहाँको राजनीतिक विचारधारामा असहमत हुनेहरू साहित्यको प्रशंसक हुनुले उहाँको सफल साहित्य लेखन पुष्टि हुन आउँछ । उहाँका पिताजी कृष्णप्रसाद कोइराला लगायत उहाँको सिंगो परिवार भारत निर्वासनमा रहेको बेला जसरी उहाँले आपूm कक्षा नौमा पढ्दापढ्दै साहित्य लेखनमा हात हाल्नुभयो त्यसरी नै राजनीतिमा समेत त्यही समयदेखि संलग्नता जनाउँदै आउनुभएको थियो । पछि २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना कालदेखि नै संस्थापक भएर राजनीतिमा निरन्तर संलग्न हुनुहुने बीपी कोइराला जीवनभरि नै नेपाली कांग्रेसकै राजनीतिमा समर्पित हुनुभयो ।

ADVERTISEMENT

उहाँले दिएको अदालतको बयानमा पनि उहाँले आफ्नो पेशा राजनीति हो भन्नुभएबाट यसको थप पुष्टि हुन्छ । २००३ सालदेखि २०१७ सालसम्मको झण्डै डेढ दशकको समय उहाँको सक्रिय राजनीतिको समयावधि हो । त्यसपछि पनि जेलजीवन, रोगसँगको सामनालगायतले गर्दा पनि उहाँको सक्रियता कम भएन । पञ्चायतविरुद्धको संघर्षमा उहाँ जीवनपर्यन्त लागिरहनु भयो । नेपाली कांग्रेस पार्टीमा मात्र होइन अन्य कम्युनिष्ट पार्टीहरू तथा पञ्चायतभित्रै पनि बीपी कोइरालाले कुनै विषयमा के बोल्नुहुन्छ भनेर सतर्कतापूर्वक हेर्ने गरिन्थ्यो । यसबाट उहाँको नेपालको राजनीतिको केन्द्रीयता पुष्टि हुन आउँछ । बीपी अन्तर्राष्ट्रिय जगतले विश्वास गरेका नेता हुनुहुन्थ्यो । उहाँ आफ्नो विचारमा स्पष्ट हुनुहुन्थ्यो ।

राजाप्रति तथा अरू विपक्षीप्रतिको धारणा सम्पूर्ण कुराका स्पष्ट हुनुहुन्थ्यो बीपी । २०३१ सालको सशस्त्र क्रान्ति होस् वा २०३३ सालको राष्ट्रिय मेलमिलाप नीति यी सबैमा प्रष्ट धारणा भएकै कारण उहाँ राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट नेपाल फर्किनु भएको थियो । त्यसबेला उहाँले व्यक्त गर्नुभएको राजाको र मेरो घाँटी जोडिएको छ भन्ने विचारलाई विवादमा तान्ने प्रयाससमेत भएको भयो तापनि उहाँले यसलाई राजतन्त्रको आवश्यकताका रूपमा व्याख्या गर्नुभयो जसले गर्दा विवाद गर्न खोज्नेहरू पनि चुप लाग्न बाध्य भएका थिए । राष्ट्रिय जनमत संग्रहको परिणामलाई उहाँले स्वीकानु भयो । यो धाँधलीबाट घोषणा गरिएको परिणाम भएका कारण स्वीकार गर्नु हुँदैन भन्ने पक्ष उहाँको आलोचना गर्न तम्सियो ।

उहाँले निरंकुशता चलाएर बसेको एउटा प्रणालीलाई कम्तीमा पनि प्रजातान्त्रिक अभ्यासमा ल्याइयो यसलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्छ भन्नुभयो । उहाँले निर्वाचन भएपछि अहिले पराजित बने पनि अर्को पटक विजयी बन्न सकिन्छ भन्नुभएको थियो । उहाँको यो तर्क पनि सबैलाई चित्त बुझ्ने खालको थियो । बीपी कोइराला आफ्नो समयका अग्रपंक्तिका नेता हुनुहुन्थ्यो । विश्व समाजवादी आन्दोलनमा उहाँको संलग्नता थियो र विश्वका महान् समाजवादी नेताहरूले उहाँलाई साथ, सहयोग र हौसला दिने गरेका थिए । नेपाली कांग्रेसले उहाँकै आदर्शलाई आत्मसात गरी आफ्नो झण्डै आठ दशकको राजनीतिको विरासत धानिरहेको छ । महान् राजनीतिज्ञ तथा सहित्यकार बीपी कोइरालाको ११०औं जन्मजयन्तीको सन्दर्भमा उहाँप्रति श्रद्धासुमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?