एमालेको लुम्बिनी प्रदेश अधिवेशन

दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालिएको अध्यक्ष ओलीको आरोप

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु भएको छ । बुटवलको रामनगरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले दक्षिणपन्थीसँग मिलेर अदालतको बलमा एमालेको सरकार ढालिएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा इपिजीको प्रतिवेदनको बारेमा कुनै कुरा नउठाएको भन्दै एमाले अध्यक्ष ओलीले देशको स्वाधीनता, भौगोलिक अखण्डता हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यतालाई तलमाथि हुन नदिने बताउनुभयो । ओलीले आफ्नो पार्टीबाहेक अन्य १० पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताउनुभयो । अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमाले मात्रै रहेको उहाँको दाबी थियो । एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताउँदै उहाँले भन्नुभयोे, ‘अरूको १० वटा बुद्धि र एमालेको एउटा बुद्धि पुग्दो छ, एमालेले मात्रै देश चलाउँछ । पार्टी र देशलाई गन्तव्यमा पुर्‍याउने छ ।’ अध्यक्ष ओलीले मिसन-८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताउनुभयो । त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको बताउनुभयो । ‘टोल टोलमा कमिटी घरघरमा सदस्य बनाएर हिँडेका छौँ । सबै दल एमालेतिर र एमाले एकातिर भए पनि हाम्रो जितलाई रोक्न सक्ने छैन ।’ अध्यक्ष ओलीले अहिले पनि नेकपा (एस) लगायतका दलबाट एमालेमा नेता कार्यकर्ताको लर्को लागेको पनि उल्लेख गर्नुभयो । मुलुक संघीयतामा गएसँगै तयार भएको संरचनात्मक संगठनअनुसार पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ । शनिबार पहिलो दिन उद्घाटन सत्र भएकामा आइतबारदेखि बन्दसत्र सुरु हुनेछ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने हुँदा आफूअनुकूल नेतृत्व छनोटमा शीर्ष नेताहरूले केही दिन अघिदेखि नै आन्तरिक छलफल तथा तयारी गरेका छन् । एमालेले मञ्चमा अतिथि नराख्ने निर्णय गरेअनुसार अधिवेशनको उद्घाटन सत्रमा सबैजना दर्शक दीर्घामा रहेका थिए । अधिवेशनमा भाग लिन प्रदेशभरबाट एक हजार चारजना प्रतिनिधि छनोट भएर आएका छन् ।

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंग्याउन निर्देशन दिनुभएको छ । एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउनुभएको हो । ‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उहाँले भन्नुभयोे ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट सातजना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुपर्‍यो ?’ अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आशीर्वाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

तत्काल पार्टीको नेतृत्व परिवर्तन सम्भव छैन : पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । उहाँले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरूबाट तत्काल हुन नसक्ने बताउनुभयो । अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई सिंगो एमालेले पानीको फोकाजस्तै बनाइदिने उहाँले बताउनुभयो । कसैले विवाद ल्याउने प्रयास गर्छ भने पनि त्यसलाई आफूहरूले सावधानीपूर्वक अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । एमाले जीवन्त पार्टी भएको र जीवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

एमालेलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेललाई जोडेर पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीका नेताहरूलाई जोडेर षड्यन्त्र भए पनि त्यो पूरा नहुने बताउनुभयो । महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठनिक रूपले एकताबद्ध रहेको उल्लेख गर्दै त्यो एकताको सन्देश लुम्बिनी अधिवेशनले पनि पुष्टि गर्ने बताउनुभयो । उहाँले जनजीविकाका मुद्दालाई बलियो बनाउन, केपी ओलीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न एमालेलाई एकताबद्ध बनाउन जरुरी रहेको बताउनुभयो । महासचिव पोखरेलले लुम्बिनी प्रदेश अधिवेशनमा मात्र नभई सातवटै प्रदेश अधिवेशनमा पनि उपाध्यक्ष पौडेल र आफू एकठाउँ रहने बताउनुभयो ।

प्रधानमन्त्री नै सामाजिक भड्काउमा : ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले ‘मलाई जिताऊ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उहाँको भनाइ थियो । बुटवलमा शनिबार सुरु एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक सद्भाव भड्काउन लागेपछि सामाजिक सद्भाव भत्कँदै गएका उदाहरणहरू देखिन थालेको बताउनुभयो । उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले केही नयाँ काम गर्न नसकेको र देशलाई संकटमा मात्रै फसाएको आरोप बताउनुभयो । देश आर्थिक मन्दीको संकटमा फसेको भन्दै उहाँले इतिहासमा राजस्वले सरकारको खर्च धान्न नसक्ने गरी आर्थिक संकट आएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले युवालाई स्वदेशमै रोक्ने, आर्थिक गतिविधि बढाउने, रोजगारी बढाउने खालका कुनै पनि गतिविधि सरकारले नगरेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?