ओखलढुंगा । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको लागत साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुंगाको ककनीमा सौर्य मिनी ग्रिड आयोजना सम्पन्न भएको छ । ७० किलोवाट पिक क्षमताको ककनी सौर्य मिनी ग्रिड आयोजनाबाट जिल्लाको सुनकोशी गाउँपालिकाको ९ स्थित ककनी गाउँका एक सय ७१ घरधुरीमा विद्युत् पहुँच पुगेको हो । आयोजनाबाट उत्पादित विद्युत्बाट घरधुरी विद्युतीकरणका साथै विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा धान कुटानी, फर्निचरजस्ता लघु उद्यम सञ्चालनमा समेत सघाउ पुगेको छ ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यता र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालको विशेष आतिथ्यतामा शनिबार आयोजनाको उद्घाटन भएको हो । कुल लागत छ करोड ४२ लाख ८८ हजार रहेको आयोजनामा कुल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गुणस्तरीय आयोजना निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दुई वर्षभित्र सबैमा विद्युत् पहुँच पुर्याउने लक्ष्य हासिल गर्न विद्युतीकरण अभियान देशैभर अघि बढाइएको बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक ढकालले आयोजनालाई दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंँदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिनुभयो । आयोजनालाई पाँच वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र पाँच वर्षपछि स्थानीय तहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा. लक्ष्मणप्रसाद घिमिरेले बताउनुभयो ।
सोही अवसरमा ऊर्जा सचिव घिमिरेसहितको टोलीले रामेछाप जिल्लाको सुनपाती गाउँपालिका–४ डहुमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्माण भएको सुनकोशी ग्रामीण सौर्य लिफ्ट खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षणसमेत गरेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा