पहिरोको चपेटामा सिद्धबाबा सुरुङमार्ग

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । मृत्यु मार्गका रूपमा चिनिने सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग निर्माणको कामले गति लिइरहेका बेला निरन्तर गएको पहिरोका कारण अवरोध सिर्जना गरेको छ । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले निर्माणाधीन सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दुमा अवरोध सिर्जना गरेको हो । एक हप्ताअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो । त्यसयता पटक–पटक गएको पहिरोले उत्तरतर्फको प्रवेशविन्दुमा क्षति पनि पुर्‍याएको छ ।

यहाँ ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पुर्‍याएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । दक्षिणतर्फ सिद्धबाबा मन्दिर नजिकैको प्रवेशविन्दूमा ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ । दुवैतर्फको सुरुङ प्रवेश मार्गमा पहिरो खसेको हो । पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालले जानकारी दिनुभयो । आइतबार मात्र सो स्थानमा पुनः पहिरो खसेको थियो ।

पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको भए पनि यकिन विवरण भने आएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो । मध्यवर्षामा नेपाली प्राविधिकहरूले ढलान गर्न नहुने भने पनि परियोजनाले एक हप्ता पहिले नै प्रवेशद्वारको ढलान गरेको थियो । एक हजार १२६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढिरहेका बेला पहिरोले दुवै प्रवेशबिन्दुमा क्षति पुगेको छ । सुरुङको दुवैतर्फको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले भने ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न सचेत गराए पनि काम गरेकाले क्षति भएको बताएको छ ।

सुरुङमार्गको विस्तृत परियोजना तयार नहुँदै ठेकेदारले काम थालेको थियो । तिनाउ गाउँपालिका-२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरूले काम गरे पनि अहिले रोकिएको थियो । सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरिएको थियो । जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको छ । स्विस एजेन्सी फर डेभलपमेण्ट एण्ड कर्पोरेसन (एसडिसी)ले गरेको अध्ययन प्रतिवेदनअनुसार नै काम अघि बढेको सडक विभागले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग पाँच वर्षभित्र बन्ने गरी ठेक्का लागे पनि एक वर्ष बढी म्याद गुज्रिसकेको छ ।

ADVERTISEMENT

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्ष अघि सात अर्ब ३४ करोड २१ लाख चार हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङमार्ग बन्नेछ । बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका-२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार १२६ मिटर दूरीमा सुरुङमार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याममाथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू फागुन दोस्रो हप्तादेखि सुरु भएको थियो । सुरुङमार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाइ हुने आशंका गरिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ ।

पटक-पटक राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर पटक-पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसिरहेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरो आइतबार दिउँसो हटाएर एकतर्फी रूपमा सडक खुलाइए पनि वर्षासँगै साना पहिरो झर्ने क्रम भने रोकिएको छैन ।
वर्षायाममा समेत निर्माण कम्पनी चाइना स्टेटले लगातार काम गरिहरेको छ । मेसिनको थर्काइबाट ठूलो पहिरो खसेको हुनसक्ने प्राविधिकहरूले अनुमान गरेका छन् । एक हप्ताअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिप पोर्टल पहिरोले पुरेको थियो । त्यसयता पटक-पटक गएको पहिरोले उत्तरतर्फको प्रवेशविन्दुमा समेत क्षति पुर्‍याएको छ । दक्षिणतर्फको प्रवेशद्वार पहिरोले भत्काएको छ भने उत्तरतर्फको प्रवेशद्वार पहिरोले पुुरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताउनुुभयो ।

उत्तरतर्फकोमा ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पुर्‍याएको देखिन्छ । दुवैतर्फको प्रवेशमार्गमा पहिरोले क्षति पुुर्‍याएकाले काम रोकिएको इञ्जिनियर ज्ञवालीले बताउनुुभयो । पानी पर्नासाथ पुनः पहिरो खस्नसक्ने जोखिम रहेको उहाँको भनाइ छ । बर्खाको समय भएकाले नेपाली प्राविधिकरूले ढलान गर्न नहुने भने पनि परियोजनाले एक हप्ता पहिले नै प्रवेशद्वारको ढलान गरेको थियो । ‘ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न भनेका थियौँ, तर उहाँहरूले काम गरेपछि अहिले यस्तो अवस्था भयो’ इञ्जिनियर ज्ञवालीले भन्नुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?