कालीगण्डकी करिडोर प्रसारण लाइन सक्न ताकेता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीय अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको थियो ।

निर्माणमा ढिलाइपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गर्नुभएको छ । छलफलबाट निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ ।

कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो । उक्त लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न सजिलो हुने उहाँको भनाइ थियो ।

प्राधिकरणका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुर्ई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । सो खण्डमा पर्ने २३५ टावरमध्ये २३४ निर्माण भइसकेका छन् भने रूपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ ।

ADVERTISEMENT

पर्वत, पाल्पा र रूपन्देहीमा गरी गरिब सात किलोमिटर तार तान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावर निर्माण सम्पन्न गरी करिब आठ किलोमिटर डबल सर्किट तार तानिएको छ । कालीगण्डकी र सो सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।

नयाँ बुटवल-बर्दघाट प्रसारण लाइन पुसभित्रै
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ । प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे)का लागि ५०.३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका पाँच हजार आठ सय रुख हटाउनुपर्नेछ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएबापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नुपर्नेछ । जसमध्ये आयोजनाले पहिलो किस्ताबापत तीन करोड ५१ लाख रुपैयाँ कोषमा दाखिला गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अघि बढेको थियो ।

२१ किलोमिटर प्रसारण लाइनका लागि ५६ टावर निर्माण गर्नुपर्नेछ । जसमध्ये २१ वटाको जग हालिएको छ । पाँचवटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरण आयोजनास्थलमा आपूर्ति भइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?