२०२४ मा कोरियन भाषा परीक्षा नहुने

निर्माण र पानीजहाजमा जाने कामदारको परीक्षा कात्तिकमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

रमेश भारती/हिटा
काठमाडौं । कोरियाको मानव संशाधन बोर्डले निर्माण क्षेत्र र पानीजहाजमा लिने कामदारका हकमा छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकारी गराएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ)का लागि दक्षिण कोरिया सरकारले नेपालमा आगामी कात्तिकमा भाषा परीक्षा गराउने बारेमा औपचारिक जानकारी गराएको शाखाले जानकारी दिएको हो । आगामी कात्तिक महिनामा पहिलो चरणमा एक हजार पानीजहाज र निर्माण क्षेत्रमा लैजाने कोरियाको बोर्डले जानकारी गराएको शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो ।

नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ)का लागि यही असारमा परीक्षा गराउन भनिए पनि कोरियाबाट फर्किएका कामदारले आन्दोलन गरेपछि परीक्षा रोकिएको थियो । नेपालमा मात्र होइन कोरियामा पनि विदेशी श्रमिक इपिएस प्रणाली खारेजीको माग गर्दै आन्दोलित छन् । जसकारण पनि परीक्षा रोकिएको शाखाको भनाइ छ ।

२०२४ मा कोरियन भाषा परीक्षा नहुने
पछिल्लो समय रोष्टरमा रहेका युवाको समेत माग नआएपछि शाखाले रोष्टरमा रहेका ८० प्रतिशत युवा कोरिया प्रवेश नगरेसम्म अर्को भाषा परीक्षा नगर्ने नीति लिएको छ । इपिएस शाखाका अनुसार कृषि क्षेत्रको छनोट भाषा परीक्षा सन् २०२४ मा नगर्ने जनाएको छ । कोरियाले सोही अनुसारको माग निरन्तर गरे मात्र पुस र माघमा उत्पादनमूलक क्षेत्रको परीक्षा हुने देखिएको छ । त्यसमा पनि कृषि क्षेत्रमा आठ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने कोरियाले संकेत गरेको शाखाले जनाएको छ ।

शाखाका अनुसार कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रमा हाल मासिक दुई हजारको हाराहारीमा कामदारको माग गरेको छ । जसकारण पनि आगामी वर्ष कोरियन भाषा परीक्षा हुने सम्भावना कम भएको शाखाले जनाएको छ । शाखाका अनुसार कोरिया सन् २०१३ र २०१७ मा पनि कोरियन भाषा सञ्चालन गरेको थिएन । उत्पादनमूलक क्षेत्रमा पनि हाल आठ हजार युवा रोष्टरमा छन् । यी कामदार पठाउन एक वर्षभन्दा धेरै लाग्छ । जसकारण आगामी वर्ष कोरियाको बोर्ड परीक्षा नगराउने शाखाका निर्देशक कटुवालले बताउनुहुन्छ ।

ADVERTISEMENT

तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा क्षमता अभिवृद्धि क्षेत्रको परीक्षा गर्ने कोरियाले जानकारी गराएको उहाँले बताउनुभयो । ‘पछिल्लो समय कोरियामा विदेशी श्रमिकको माग घटेका कारण नेपालबाट जाने युवाको प्रवेश दर पनि घट्दै गएको छ । कोरियामा कार्यरत नेपालीले छिटोछिटो कार्यस्थल परिवर्तन गर्ने गरेका कारण पनि त्यहाँ रोजगारदाताले नेपालीको माग संख्या घटाउँदै लगेका हुन् ।’ उहाँले भन्नुभयो, ‘आगामी सेप्टेम्बर तथा नोभेम्बरमा हुने माग संख्याका आधारमा पुस र माघमा मात्र परीक्षा गर्न सकिनेछ । तर, त्यसका लागि पनि अहिलेसम्म तयारी केही नभएको र कोरियन बोर्डले पनि चासो देखाएको छैन ।’

कोरियाले तीन/तीन महिनामा विदेशी श्रमिकको माग कोटा निर्धारण गर्ने भएकाले हरेक तीन महिनामा तीन हजारदेखि ३५ सय नेपाली युवाको माग भए मात्र उत्पादनमूलक क्षेत्रको परीक्षा आगामी ६ महिनाभित्र हुनेछ । यसका बारेमा पनि जानकारी नभएको शाखाले जनाएको हो । हाल कोरियामा कार्यरत करिब १० हजार कामदारको पनि करार अवधि सकिएर फर्किने क्रममा रहेको र उनीहरूको हकमा पनि परीक्षा गराउन समस्या हुने शाखाले जानकारी दियो ।

कृषि तथा पशुपालनका लागि आठ हजारभन्दा बढी पास
कृषि तथा पशुपालन क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षा अर्थात् इपिएस टपिक परीक्षा पास भएकामध्ये सीप परीक्षणमा आठ हजार १९८ युवा पास भएका छन् । शुक्रबार नतिजा प्रकाशन गर्दै इपिएस शाखाले मानव संशाधन बोर्ड कोरियाबाट गत फागुन २३ देखि वैशाख १३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा जम्मा २६ हजार ८७६ जना परीक्षार्थी रहेकोमा परीक्षामा समावेश भएका २४ हजार ३२६ मध्ये सीप परीक्षणबाट आठ हजार १९८ जना उम्मेदवार उत्तीर्ण भएको जनाएको छ । उत्तीर्ण हुनेको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फाराम भर्ने काम केही दिनमा सम्पन्न गरी रोष्टर तयार गरिने भएको छ ।

कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको रोजगार अनुमति प्रणालीअन्तर्गत रोजगार प्रक्रियामा समावेश हुनको लागि रोष्टरमा सूचीकृत हुनु मात्र रहेको जनाउँदै शाखाले दक्षिण कोरियामा रोजगारीको ग्यारेण्टी हुन्छ भन्ने नभएको स्पष्ट पारेको छ । रोष्टरमा नाम समावेश भए पनि आफ्नो पेसा एवं व्यवसायलाई समेत निरन्तरता दिन शाखाले अनुरोध गरेको छ । सीप परीक्षणमा पास भए पनि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्नका लागि आवेदन दिन सकिने शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?