कांग्रेस केन्द्रीय समिति बैठक आज, संस्थापन पक्ष र इतर पक्ष आमनेसामने हुने

नक्कली भुटानी शरणार्थी र ललितानिवास प्रकरणमा दुई धार

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज(मंगलबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बोलाइएको बैठकमा कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासनसम्बन्धी विषय, नीति महाधिवेशनको तिथि मिति र समसामयिक राजनीति लगायतका एजेण्डामा छलफल हुनेछ । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को श्रीमती सीता दाहालको निधनपछि स्थगित भएको सो बैठक आज बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले सोमबार आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्नुभएको थियो । सभापति देउवाले केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासंग पुनः छलफल गर्दै हुनुहुन्छ । केन्द्रीय समितिको बैठकका एजेण्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले पनि सोमबार अलग्गै छलफल गरेको छ ।

आक्रामक इतर समूह
झण्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्ष र इतर पक्ष आमनेसामने हुने देखिएको छ । मुख्य गरी भ्रष्टाचारको प्रकरणमा मुछिएका नेताहरूलाई कारबाही गर्ने विषयमा कांग्रेसमा दुई धार देखिएको छ । संस्थापनइतर पक्षका नेताहरू भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष तत्काल कारबाही गर्न नहुने पक्षमा उभिएको छ । आजबाट सुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पनि नक्कली भुटानी शरणार्थी र ललितानिवास प्रकरणबारे नेताहरूमा विभाजन देखिएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्ने विषयमा छलफल नभएको जानकारी दिँदै पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता डा.शशांक कोइरालाले भन्नुभयो, ‘भ्रष्टाचारको विषयमा कुरा भएन । तर, यो पहिलो बैठकमा कतिपय युवा साथीहरूले कारबाही गर्नुपर्छ भनिराख्नु भएको छ । अरूहरूले कारबाही अहिले नगरौँ भन्नुभएको छ । यो कुरा केन्द्रीय समिति बैठकमा पनि उठ्छ नै । तर, पार्टीबाट ठोस निर्णय भएको छैन ।’ आजदेखि सुरु हुने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने विषयमा छलफल भए पनि टुंगो लाग्न सकेन । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले बैठक लाइभ गराउने कि भन्ने विषयमा प्रस्ताव राख्नुभएको बताइएको छ । केन्द्रीय समिति बैठकमा गोपालमान श्रेष्ठले प्रतिवेदन पेस गर्ने तयारी छ । यस्तै, सरकार, प्रदेश र हरेक वडाको बारेमा प्रतिवेदन आउने र बैठकलाई खुला गर्ने विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको छ ।

कांग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य बालकृष्ण खाँणमाथि कारबाहीको विषय एजेण्डा बनाउने कि नबनाउने भन्ने विषयमा विवाद छ । डा.शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरू भुटानी शरणार्थीसहित भ्रष्टाचार प्रकरणमा मुछिएकाहरूमाथि कारबाही गर्नुपर्ने पक्षमा छन् । नेतृत्वले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चासो रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन नगरेको भन्दै इतर पक्ष रुष्ट छ । तर, सभापति देउवा खाँणको विषय बैठकमा प्रवेश नै नगराउने पक्षमा देखिनुभएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने÷नगर्ने विषय बैठकमै नउठाउने सभापति शेरबहादुर देउवाको चाहनामा संस्थापन पक्षका अधिकांश नेताको मत मिल्ने देखिएको छ भने इतरपक्षले नक्कली भुटानी शरणार्थी र ललितानिवास जग्गा प्रकरणलाई प्राथमिकताका साथ उठाउने तयारीमा छ । सभापति देउवाले खाँणनिकट नेताहरूलाई शरणार्थी प्रकरणलाई बैठकको एजेण्डा नबनाउने संकेत दिइसक्नु भएको छ । महामन्त्री गगन थापा भने नक्कली भुटानी शरणार्थी र ललिता निवासको जग्गा हिनामिना प्रकरणलाई बैठकमा उठाउन कस्सिएर लाग्नुभएको छ ।

आफ्नै पार्टीसमेत संलग्न रहेको सरकारको भ्रष्टाचारविरोधी अभियानमा नेतृत्व मौन बस्दा कांग्रेस भ्रष्टाचारको संरक्षक जस्तो बनेको सन्देश प्रवाह हुने तर्क गर्दै संस्थापन पक्षीय केही नेताहरू पनि त्यसलाई चिरेर अघि बढ्न पनि कांग्रेसमा छलफल निषेध गर्न नहुने जिकिर गर्छन् । खाँणनिकट सहमहामन्त्री महेन्द्र यादव भने दुई महिनाअघिको पदाधिकारी बैठकमा थप छलफल नगर्ने भनेर टुंगिसकेको उल्लेख गर्दै यही विषय अब फेरि एजेण्डा बन्न नहुने अडान राख्दै आउनुभएको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अर्का नेता विजयकुमार गच्छदार जोडिनुभएको छ । खाँण र गच्छदार दुवै सभापति देउवानिकट नेता हुनुहुन्छ  । भुटानी शरणार्थी प्रकरणसम्बन्धी एउटा अडियोको कारण देउवापत्नी आरजू राणा पनि विवादमा तानिँदै आउनुभएको छ ।

ADVERTISEMENT

६ महिनाभित्रै गर्नुपर्ने काम डेढ वर्षसम्म पनि हुन सकेन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकालमा पनि कार्यशैलीमा सुधार आउन सकेको देखिँदैन । सभापति देउवाले समयबद्ध काम नगर्दा पार्टीको गति सुस्त भएको छ । पार्टी पदाधिकारीको कार्यविभाजनसमेत भएको छैन । सभापति देउवाले पदाधिकारीको कार्यविभाजन गर्नुपर्ने तर प्रवक्ता तोक्नेबाहेक सभापति देउवाले कार्यविभाजनबारे काम गर्नुभएको छैन । २०७८ मंसिरमा काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनमा शेखर कोइरालालाई हराउँदै देउवा दोस्रोपटक पार्टीको बागडोर सम्हाल्न सफल हुनुभएको थियो । विधानअनुसार ६ महिनाभित्र गर्नुपर्ने काम पूर्णता दिन देउवाले डेढ वर्षसम्म पनि चासो देखाउनुभएको छैन । पार्टी विधानअनुसार ६ महिनाभित्र गर्नुपर्ने कामहरू सभापति देउवाले अहिलेसम्म थाती राख्नुभएको छ ।

सभापति देउवालाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने अधिकार विधानले दिएको छ । पटक-पटक गरी अहिलेसम्म २३ जनालाई केन्द्रीय सदस्य बनाए पनि अझै १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ । नेपाली कांग्रेसमा १४ जना केन्द्रीय पदाधिकारी रहने व्यवस्था छ । कोषाध्यक्षबाहेक अरू प्रत्यक्ष चुनावबाटै चुनिएर आएका छन् । केन्द्रीय सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने विधानको व्यवस्था भए पनि सभापति देउवाले महाधिवेशन भएको १८ महिनासम्म कोषाध्यक्ष मनोनीत गर्नुभएको छैन । सभापति देउवाले संसदीय समिति पनि गठन गर्न सक्नुभएको छैन । संसदीय समितिमा पदाधिकारी पनि रहने व्यवस्था छ । साथै सभापतिले बढीमा ११ जना सदस्य समितिमा मनोनीत गर्न पाउने व्यवस्था छ । कांग्रेसमा प्रदेशलगायत तल्ला तहमा पनि उम्मेदवार सिफारिस गर्न संसदीय समिति छन् । तर, उम्मेदवारको अन्तिम निर्णय भने केन्द्रीय संसदीय समितिले नै गर्ने परम्परा छ । तर, महाधिवेशनपछि स्थानीय, प्रदेश र संघको चुनाव भए पनि संसदीय समिति गठन हुन सकेको छैन ।

सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिनुभएको छैन । सभापतिलाई ३१ जना कार्यसम्पादन समिति सदस्य मनोनीत गर्ने अधिकार छ । कार्यसम्पादन समिति ४६ सदस्यीय हुने भए पनि अहिले ३७ जना मात्रै छन् । पार्टीका २७ विभागमध्ये अझै २६ विभाग गठन गर्न अझै बाँकी छ । महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने भए पनि अहिलेसम्म प्रचार विभाग मात्र गठन गरिएको छ । १४औँ महाधिवेशनले नेतृत्व मात्रै चयन गर्‍यो, नीति थाती राख्यो । नेतृत्व महाधिवेशन भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि १८ महिना हुँदासमेत नीति महाधिवेशनको मिति तय भएको छैन । यता, महासमिति बैठकको विषय कांग्रेसमा अहिले चर्चासमेत भएको छैन । कांग्रेसमा अनुशासन, केन्द्रीय निर्वाचन र लेखाजस्ता समिति छन् । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ । श्यामकुमार घिमिरेको नेतृत्वमा लेखा समिति गठन भएको छ । तर, यी समितिमा सदस्य छैनन् । कांग्रेसका भ्रातृ संघसंस्थाहरू भताभुंग अवस्थामा छन् । भ्रातृ संस्थाका नियमित महाधिवेशन गर्नतर्फ केन्द्रीय समिति र सभापति देउवाको चासो छैन । कांग्रेसमा १३ भ्रातृ र २६ शुभेच्छुक संस्था छन् ।

मन्त्रीहरूको कामको परिणाम खोजिने
सत्तारूढ दल नेपाली कांग्रेसको आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे पनि छलफल हुने भएको छ । संघीय सरकारमा कांग्रेसका तर्फबाट नौजना मन्त्री भए पनि सरकारमा भएको अनुभूति माओवादीका मन्त्रीहरूले मात्र गरेको भन्दै कांग्रेसको संस्थापनइतर समूहले केन्द्रीय समिति बैठकमा मन्त्रीहरूले गरेका कामको खोजी गर्ने तयारी गरेको छ । संघीय सरकारका मन्त्रीहरू मात्र नभएर प्रदेश सरकार र त्यहाँका मन्त्रीहरूको कार्य मूल्यांकन र हिसाब पनि खोज्ने तयारी इतर समूहले गरेको छ । कांग्रेसका मन्त्रीहरूभन्दा माओवादीका मन्त्रीहरूले राम्रो काम गरेको देखिएको इतर समूहका नेताहरूको मूल्यांकन छ । अर्थमन्त्री डा.प्रकाशशरण महतमाथि सीमित जिल्लामा मात्र बजेट छुट्याएको र समानुपातिक वितरण नगरेको आरोप कांग्रेसकै सांसदहरूले लगाइरहेका छन् ।

बैठकका लागि १० वटा एजेन्डा तय
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताउनुभयो । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गर्नुभयो ।

बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?