महेशपुर भन्सारले करोडौं राजस्व गुमाउँदै

Read Time = 10 mins

नवलपरासी । प्रधानमन्त्रीको निर्देशन पालना नहुँदा पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले करोडौं राजस्व गुमाउँदै आएको छ । चालु आर्थिक वर्षमा ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष सकिनै लाग्दा करिब १० करोडमात्र संकलन गरेको छ । प्लान्ट क्वारेन्टाइन नहुँदा व्यापारीले आयात गरेका फलफूल तथा तरकारीजन्य वस्तुको भन्सार गर्न नसकिएको महेशपुर भन्सार कार्यालय प्रमुख बुद्धिबहादुर चुँडालले बताउनुभयो । अहिले व्यापारीहरू भन्सारका लागि आउने गरे पनि फिर्ता पठाउनुपर्ने वा भैरहवा पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । महेशपुर भन्सार कार्यालयले भन्सार नगरिदिँदा निकै सास्ती खेप्नुपरेको तरकारी तथा फलफूल व्यवसायी बताउँछन् । नजिकको नाकाबाट भन्सार कार्यालयबाट भन्सार नगरी भैरहवा भन्सारमा पुग्दा लागत बढ्ने उनीहरूले बताएका छन् ।

क्वारेन्टाइन नभएका कारण व्यापारीले महेशपुर भन्सारबाट फलफूल तथा तरकारीजन्य वस्तु आयात गर्ने सोच नै नबनाउने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश अध्यक्ष गुणनिधि तिवारी बताउनुहुन्छ । २०७८ असोज ७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णयबाट प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई महेशपुरसहित सुठौली भन्सार कार्यालय कपिलवस्तु र सिरहा भन्सार कार्यालय सिरहामा तत्काल प्लान्ट क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सुठौलीलाई क्वारेन्टाइन कार्यालय कृष्णनगर, सिरहालाई जलेश्वर क्वारेन्टाइन कार्यालय जलेश्वर र महेशपुरलाई क्वारेन्टाइन कार्यालय भैरहवाले हेर्ने गरी गत असोज ६ गते नै निर्णय भएको थियो । निर्णयलगत्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले असोज ८ गते अर्को व्यवस्था नभएसम्मका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने र त्यहाँ कार्यालयबाट खटाइएका एक/एक जना प्राविधिकमार्फत् सम्बन्धित भन्सार कार्यालयले उपलब्ध गराउने कार्यकक्ष प्रयोग गरी आवश्यक निरीक्षण, परीक्षण गरी छोडपुर्जी जारी गर्नेसम्मको अधिकार दिँदै निर्णय अबिलम्ब कार्यान्वयन गर्न केन्द्रका तत्कालीन प्रमुख सहदेवप्रसाद हुमागाईंले तीनवटै क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

प्लान्ट क्वारेन्टाइन नहुँदा व्यापारीले आयात गरेका फलफूल तथा तरकारीजन्य वस्तुको भन्सार गर्न नसकिएको महेशपुर भन्सार कार्यालय प्रमुख चुँडालले बताउनुभएको छ ।

तत्कालीन समयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय आफैँ मातहत राख्नुभएका प्रधानमन्त्री देउवाले निर्देशन दिएसँगै सुठौली र सिरहा भन्सारमा कार्यान्वयन भई सञ्चालनमा आए पनि महेशपुर भन्सारमा भने हालसम्म कार्यान्वयन हुन सकेको छैन । भन्सार विभाग मातहतको सामान्य प्रशासन तथा जनशक्ति विकास शाखाका शाखा अधिकृत घनश्याम तिमल्सिनाले २०८० जेठ २४ गते क्वारेन्टाइन कार्यालयबाट खटिई आउने कर्मचारीका लागि आवश्यक कार्यकक्ष उपलब्ध गराउन महेशपुर भन्सार कार्यालयलाई पत्र लेख्नुभएको थियो । भन्सार कार्यालयका प्रमुख चुँडाल भन्नुहुन्छ, ‘भन्सार कार्यालयको पत्र आएपछि महेशपुरमा पनि प्लान्ट क्वारेन्टाइन सञ्चालन हुनेमा निश्चित थियौँ । पत्रमा भनिएअनुसार हामीले प्राविधिकलाई कार्यकक्ष र आवासको व्यवस्था मिलाएका छौँ ।’

ADVERTISEMENT

महेशपुर भन्सार कार्यालयले प्राविधिकका लागि सम्पूर्ण व्यवस्था मिलाए पनि भैरहवाले कर्मचारी नपठाउँदा सञ्चालनमा आउन नसकेको चुँडालको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘कर्मचारी व्यवस्थापन गरिदिन भैरहवालाई पटक-पटक आग्रह गरे पनि कर्मचारी व्यवस्था हुन सकेको छैन ।’

भन्सार विभागका निर्देशक सूर्यप्रसाद सेढाईंले २०७८ असोज १० गते सुठौली, महेशपुर र सिरहा भन्सार कार्यालयलाई निर्णय कार्यान्वयन गराउन निर्देशन दिए पनि महेशपुर भन्सार कार्यालयमा भने कार्यान्वयन हुन सकेन । महेशपुर भन्सार कार्यालयले कर्मचारी व्यवस्थापन गरिदिन गरेको आग्रहलाई विभिन्न वहाना बनाएर क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख कुलदिप घिमिरेले आलटाल गर्दै आउनुभएको छ ।

सुठौली र सिरहा भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन सञ्चालनमा आए पनि महेशपुुर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन सञ्चालनमा नआउनुमा क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख कुलदिप घिमिरे नै कारक रहेको भन्सार स्रोतको दाबी छ । स्रोतका अनुसार प्लान्ट क्वारेन्टाइन महेशपुरमा सञ्चालनमा नआउँदा भारतबाट भित्रिने तरकारी तथा फलफूलजन्य वस्तु महेशपुरबाट भैरहवा पठाउनुपर्ने र सोको लाभ घिमिरेले लिने गर्नुभएको छ । सामान्यतया दुई वर्षमा कर्मचारी सरुवा हुने प्रचलन रहे पनि घिमिरेले शक्ति प्रयोग गर्दै विगत छ वर्षदेखि भैरहवामै हुनुहुन्छ । स्रोत भन्छ, ‘घिमिरेले शक्तिको प्रयोग गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनमा हाल जनशक्ति अभावका कारणले नियमित कार्य सञ्चालनमा समेत कठिनाइ भएको पत्र जारी गरिएको छ ।’ गत जेठ २४ गते भन्सार विभागले कर्मचारीका लागि आवश्यक कार्यकक्ष र आवासको व्यवस्था मिलाउन भनी प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनलाई पत्राचार गरेसँगै सोही दिन केन्द्रले जनशक्ति अभाव कारण देखाउँदै अल्पकालीन व्यवस्थालाई निरन्तरता दिन कानुनी आधार नरहेको जिकिर गर्दै हाल कार्यालय प्रमुख रहनुभएकी सावित्री बरालले सुठौली, सिरहा र महेशपुर भन्सार कार्यालयलाई पत्राचार गर्नुभएको छ । पत्रसँगै सुठौली र सिरहामा सञ्चालन भएको क्वारेन्टाइनसमेत बन्द भएका छन् ।

जनशक्ति अभावका कारण प्लान्ट क्वारेन्टाइन सञ्चालन गर्न नसकिने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०६३ सालमा नेपाल राजपत्रमा प्रकाशित भएका प्लान्ट क्वारेन्टाइनबाहेक अन्य अल्पकालीन व्यवस्था गरिएका ठाउँमा खटिएका कर्मचारी फिर्ता बोलाउँछौँ । राज्यलाई आवश्यक हो भने कानुनी आधारसमेत खडा गरी निर्णय गर्नुपर्छ न कि मन्त्रालयस्तर वा अन्यत्रबाट होइन । राज्यलाई आवश्यकताअनुसार कानुनी आधार र जनशक्ति व्यवस्थापन हुन सकेमात्रै काम गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?