विगत २७ वर्षयता निरन्तर आयामिक विवादको केन्द्रमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आयामिक र अनपेक्षित मार्ग चयन गर्न सिपालु हुनुहुन्छ ।
(क) फरक समयमा फरक आवरण
माक्र्सवादी भौतिकवादमा विश्वास गर्ने नेपाली कम्युनिष्टहरूको आवरण परिवर्तन फरक-फरक समयमा विपन्न जनतालाई झुक्याउने र वर्ग दुश्मनको नाममा राजनीति गर्ने अस्त्र सिद्ध हुँदै आएको छ । ००६ सालमा स्थापित कम्युनिष्ट पार्टीमा आबद्ध सदस्यहरू अपवादलाई छाडेर प्रतिशतका आधारमा हेर्दा करिब नब्बेको हाराहारीमा कोही पनि माक्र्सवादी छैनन् । यद्यपि, नेपाली नागरिकमा अन्तरनिहित राष्ट्रवादको संवेदनालाई दोहन गर्ने र नेपालको लोकतान्त्रिक आन्दोलनमाथि प्रतिक्रियात्मक प्रहार केन्द्रित गर्ने राजनीतिक खेल माक्र्सवादकै नाममा चलिरहेको छ । माक्र्सवादसरह नै क्रिया प्रतिक्रियाको सञ्जालमा राजसंस्थावादीहरूले विगतमा निरन्तर राजनीति नगरेका होइनन् । तर, समयले निर्धारण गरेको नियतिमा राजसंस्था विस्थापन भयो र कुनै न कुनै सबल रज्जु निर्माण गरी पुनःस्थापनको प्रयास भइरहेको छ । जति बढी वर्तमान राज्यप्रणाली अन्तर्गतको राजनीतिक नेतृत्व र संयन्त्र असफल हुँदै जानेछन् त्यति नै राजसंस्थाका लागि बलियो रज्जुमार्ग तयार हुने स्पष्ट छ । राजसंस्थावादीहरूको आशा, भरोसा र विश्वास पनि वर्तमान नेतृत्वका विफलताबाट नै पूर्ण हुन सक्नेमा देखिन्छ ।
(ख) नव मोर्चाको अन्तर्य
यतिखेर प्रसंग यो होइन । प्रसंग हो माओवादी अध्यक्ष पुष्पकमल दाहालको पहलमा गठित समाजवादी मोर्चा, मोर्चाको गठनपश्चात् आरम्भ सत्ताखेलको गणितीय चर्चा र जरामा रहेको महाकालेश्वर दर्शन । स्पेनका राजा ह्वा कार्लोसको बहुचर्चित कथन किंवदन्ती भएर सुनिने गरिन्छ ः जो व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट हुँदैन त्यसमा रातो र तातो रगत नै हुँदैन र जो व्यक्ति २५ वर्ष भन्दामाथि पनि कम्युनिष्ट भइरहन्छ त्यसको टाउकोमा गिदी नै हुँदैन । यस्तो भनाइमा विश्वास गरेर गिदी नै छैन वा रातो रगत नै हुँदैन भन्ने निष्कर्ष निकाल्नु त्यति उपयुक्त नभए पनि अनेक साम्यवादीहरूका पछिल्ला र अघिल्ला व्यवहार हेर्दा प्रशस्त बहस हुनसक्छ ।
(ग) पार्टीका सदस्य कम्युनिष्ट भएनन्
००६ सालमा स्थापित कम्युनिष्ट पार्टीमा आबद्ध अधिकांश नेता कार्यकर्ताहरू पार्टी सदस्य भए पनि यथार्थमा कम्युनिष्ट भने छैनन् र हँुदैनन् पनि झापा आन्दोलनका नायक मानिने मोहनचन्द्र अधिकारी र पछिल्लो कालखण्डका पुष्पकमल दाहाल यसका उदाहरण हुनुहुन्छ । शीर्ष चरित्रको मात्र उल्लेख गरिएको हो यहाँ । माओवादी हिंसाका भाष्यकार डा. बाबुराम भट्टराई त सात वर्ष पहिले नै माक्र्सवादको औचित्य समाप्त भएको निष्कर्षमा पुग्नुभएको थियो । कुनै समयमा युरोपेली विद्वान्हरूले भनेका थिए : द गड द्याट फेल्ड । अर्थात् सुरुका तीन दशकसम्म साम्यवादलाई द गड जस्तो मान्ने ती विद्वान्हरूको अन्तिम निष्कर्ष थियो द्याट फेल्ड । विस्तारै पुष्पकमल दाहाल पनि द गडबाट द्याट फेल्डको निष्कर्षमा पुग्नुभएको हुनाले नै केही दिन पहिले भारतमा पुगेर महाकालेश्वरको दर्शन गर्नुभयो, त्यसको परिपूरक संस्कृतिका रूपमा आएर पशुपतिनाथको दर्शन गर्नुभयो । उहाँको यो रूप परिवर्तन ०६४ सालमा चतरा वराह क्षेत्रमा पुगेर गर्नुभएको महिषपूजनबाट नै आरम्भ भएको अनुभव भएको हो ।
(घ) धर्मवादीहरूलाई निस्तेज गर्ने खेल ?
के साच्चै माओवादी जनवादको बाटोमा लाग्दै गर्दा परम्परागत धर्म, संस्कृतिको टेको आवश्यक भएको हो ? कि धर्म सापेक्षतावादीहरूलाई निस्तेज गराउने चाल मात्रै हो ? अथवा धर्मसापेक्षतावादी जनमतलाई साथ लिने आन्तरिक प्रपञ्चको दृश्यविधान हो यो ? अनेक प्रश्न हुन सक्छन् । खासगरी धर्मको आडमा नेपालमा राजसंस्थावादीहरूको बढ्दो दबाबलाई केन्द्रमा राखेर उदारता देखाउने प्रयास मात्रै हो कि ? जे भए पनि गतसाल पुसदेखि नै लवेदा सुरुवाल र टोपीको पहिरनमा देखा पर्नुभएका दाहालमा केही परिवर्तन भएका छन् र नेपाली जनताको भित्री मनलाई यसले कतै न कतै प्रतिनिधित्व गरिरहेको संकेत दिएको छ ।
(ङ) मोर्चा र महाकालेश्वरको संयोग
संयोग नै मान्नुपर्छ, भारत भ्रमण र महाकालेश्वरको पूजा अनि पशुपतिनाथको दर्शनपश्चात् यतिखेर कम्युनिष्ट शब्दावली परित्याग गर्दै पुराना कम्युनिष्टहरूले समाजवादी मोर्चाको गठन गरेका छन् । यो मोर्चाको उद्देश्य के हो ? परिभाषित छैन । साम्यवादीहरूलाई एकताको सूत्रमा ल्याउने आसय गर्भस्थ गरेको भनाइ केही नेताहरूको छ । ती भनाइहरू कति सही हुन् भन्न सकिँदैन । एकातिर माक्र्सवादी भौतिकवादविपरीत एक ईश्वरवादमा विश्वास गर्दै मन्दिर, मस्जिद चर्च वा गुम्बा आदिमा शिर निहुराउन पुग्ने, पूजा अर्चना गर्दा पीत वस्त्र धारण गर्ने, उस्तै परे त्रिपुण्डक धारण गर्ने जस्ता व्यवहार कसरी साम्यवादी एकताको मार्ग हुन सक्छन् ? यो प्रश्न पनि भविष्यकै लागि होला ।
(च) के हो त मोर्चाको अर्थ ?
सम्भवतः यस प्रश्नको उत्तर खोज्ने क्रममा वर्तमान सरकारको विकल्पमा नयाँ समीकरणको चर्चा आएको होला । नेपाली कांग्रेसको बलियो साथ पाइरहेको दाहाल नेतृत्वको सरकार आफैँले विकल्प खोज्ने हो कि ? प्रमुख प्रतिपक्षको रोहरवरमा पुनः सरकारमा नयाँ समीकरण हुने हो ? यसबाट सरकार र स्वयं प्रधानमन्त्री दाहालको विश्वसनीयता कति रहला ? अनि अर्को समीकरण फेर्नुपर्ने आवश्यकता माओवादी नेतृत्वलाई हो ? नवगठित मोर्चाका लागि आवश्यक हो ? अथवा प्रमुख प्रतिपक्षी एमाले वा सत्तासाझेदार नेपाली कांग्रेसलाई ? साना तर महŒवपूर्ण भूमिका रहेका रास्वपा र राप्रपाको खोजी पनि नयाँ समीकरणमा सहभागिताको आकांक्षा हुन सक्ला । खास गरी रास्वपा र राप्रपाको मानसिकता हेर्दा कतै न कतै कुनै न कुनै रूपमा सत्तामा निर्णायक हुन पाए आफ्नो संगठनात्मक सबलीकरणको रणनीति बनाउनु सहज होला भन्ने अनुमान गर्न सकिन्छ ।
योभन्दा पनि नेपाली कांग्रेसभित्र दुई धारको अन्तरसंघर्षको परिणामले पनि नयाँ समीकरणको वहस सतहमा आएको देखिन्छ । सभापति देउवाविरुद्ध आक्रामक रूपमा स्थान फराक गर्न आतुर एक पंक्ति एमाले, रास्वपासँग मिलेर आफ्नो नेतृत्वमा सरकारका पक्षमा रहेको हुनसक्छ । यसो गर्दा वर्तमान सरकारमा रहेका देउवा पकड र प्रभाव घट्ने र अर्को महाधिवेशन आउँदा नआउँदा आफ्नो वर्चस्व स्थापित हुनेमा यो पंक्तिको कसरत हुनसक्छ । तर, दाहाल नेतृत्वको सरकारविरुद्ध नयाँ समीकरणको अभ्यासले वर्तमान राजनीतिलाई सोझो बाटो भने देखाउने छैन । हो, पाँच वर्षसम्म नेपाली कांग्रेस र एमालेले मिलेर सरकार चलाएमा प्रणालीगत स्थायित्व र आमनागरिक विश्वस्त हुने आधार खडा हुनु सम्भव छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा