काठमाडौं । रामेछापको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका-४ बेथानमा हाइमास्ट र स्मार्ट सडकबत्ती (स्मार्ट स्ट्रिट लाइट)जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानका मुख्य-मुख्य चोकमा हाइमास्ट र सडकबत्ती राखेको हो । बत्ती राखेपछि रातको समय ती क्षेत्र झिलिमिली बनेका छन् । मन्थली नगरपालिकामा पर्ने करिब छ किलोमिटर शहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त एक सय ७० सडकबत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९, ६० वाटकै स्मार्ट लाइट ८० र ९० वाटका स्मार्ट लाइट ७१ जडान गरिएको प्राधिकरणले जनाएको छ ।
बसपार्क र विनिता चोकमा १२.५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ ।
सडकबत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा तीन सय ३१ स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः एक सय ४८ र एक सय ८३ वटा रहेका छन् । १२.५ मिटर अग्लो पोलमा तीनवटा हाइमास्ट लाइट जडान गरिएको र लागत दुई करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । मन्थली क्षेत्रमा जडित सडकबत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लव श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । बेथानमा जडित बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका स्थानमा भइरहेको लोडसेडिङ अन्त्यपछि हाल २४ सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्याउने काम अभियानकै रूपमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने, हिउँदमा मागअनुसार अपुग विद्युत् पुग्ने गरी जलविद्युत् आयोजना बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी विद्युत् निर्यात गर्ने रणनीतिसाथ अगाडि बढेका छौँ ।’ सडक बत्तीको महसुल सम्बन्धित पालिकाले तिर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा स्मार्ट लाइट नियन्त्रण गर्न सकिन्छ । स्मार्ट लाइट प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत् महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।
प्राधिकरणले उज्यालो शहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिरहेको छ । ठेक्का सम्झौताअनुसार सडकबत्ती नियमित मर्मतसम्भार पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्नेछन् भने पोल, तार, बत्तीलगायतका संरचना प्राधिकरणकै स्वामित्वमा रहनेछन् । जसबाट शहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातमा खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच