भारत भ्रमणका क्रममा प्रचण्डले नेपालको हितमा चुइँक्क बोलेनन् : ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले मित्रराष्ट्र भारतसँग आफ्नो देशको पीरमर्कासमेत प्रधानमन्त्री दाहालले राख्न नसकेको आरोप लगाउनुभएको हो ।

उहाँले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘यस्ता यस्ता सरकार बनेका छन् । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्रराष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पीरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो पर्‍यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरू बन्नु भएको देशको दुर्भाग्य हो ।’
ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनी सरकारमाथि कटाक्षसमेत गर्नुभयो । ओलीले भन्नुभयोे, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा आठ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर दुई प्रतिशत नपुग्ने अवस्था छ । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीलाई धुवाँ उडाएको कि, धुलो उडाएको कि, के गर्‍या छ ? युक्रेनको वारले हो ?’ प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको ओलीको भनाइ छ ।

वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको बताउनभुयो । ‘दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै बाँध नबाँधीकन ४८० मेगावाट कुदेको नदीबाट विद्युत् निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैँले बनाउँछ मैले निर्णय गरेको थिएँ । यो त अहिले ती किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनुभएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दुर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो ।’

ADVERTISEMENT

उहाँले वर्तमान सत्तारूढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी गर्नुभयो । ‘विकासको योजना छैन, सोच छैन । अब यिनीहरूले के देख्छन् ? भन्दा, उनीहरूलाई छटपटी के हुन्छ भन्दा जेमा पनि एमालेको विरोध अगाडि बढ्यो । म भन्न चाहन्छु, एमालेलाई कहीँ कतै कसैले कुनै हिसाबले पनि कमजोर पार्न सक्दैन । पछाडि धकेल्न सक्दैन । पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले फेरि जस्ताको तस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ यस देशका लागि । यस देशको सुन्दर भविष्यका लागि, हाम्रा सन्ततिका लागि ।’ ओलीले भन्नुभयो । उहाँले कर्मचारीलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि पटकपटक आग्रह गर्नुभयो । उहाँले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्रीले देशका नदीनाला भारतलाई सुम्पिए : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आहृवान गर्नुभयो । सैनिक संगठनले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङ्देनको भनाइ थियो । उहाँले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो देशको भू-भागसमेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दाखेरि यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ । तपाईंहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ ।’ अध्यक्ष लिङ्देनले भूतपूर्व सैनिकहरूका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताउनुभयो । उहाँले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरूले चुप लागेर बस्न नमिल्ने पटकपटक दोहोर्‍याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?