काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इपान) मा चुनावी सरगर्मी बढेको छ । यही जेठ ३२ गते हुने चुनावका लागि सम्बद्ध विभिन्न व्यवसायीले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् । पछिल्लोपटक उत्तम भ्लोन लामाले उपाध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । करिब एक दशकदेखि जलविद्युत् व्यवसायमा संलग्न युवा उद्यमी लामा हाल कार्यसमिति सदस्य हुनुहुन्छ । निजी क्षेत्रको जलविद्युत् उद्यममा देखिएका, भोगिएका समस्या समाधानका लागि लामा सक्रिय रहँदै आउनुभएको छ ।
तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकको सिइडिबी हाइड्रा फण्डले प्रवद्र्धन गरेको राधी जलविद्युत्बाट मुलुकको जलविद्युत् क्षेत्रमा प्रवेश गर्नुभएका लामा हाल छ सय मेगावाटको आयोजनामा संलग्न हुनुहुन्छ । एनएमबी बैंकको सञ्चालक समितिका सदस्य, निजी क्षेत्रबाट भारत, बंगलादेशलगायत आन्तरिक तवरमा विद्युत् व्यापार गर्न गठित नेपाल पावर ट्रेडिङ कम्पनीको सञ्चालकसमेत रहनुभएका लामाले उम्मेदवारी घोषणासँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
अध्यक्षका उम्मेदवार कार्की प्यानलसहित चुनावी प्रतिस्पर्धा हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षमा डाँगी र उपाध्यक्षमा लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लामाका अनुसार नेपालको ऊर्जा बजार अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । जोखिम र फाइदा दुवै रहेकाले सबै सरोकारवाला निकाय सरकारसहित पूर्णरूपमा सहकार्य गरेर अघि बढेमा भारत, बंगलादेशलगायत म्यान्मा, श्रीलंकालगायतमा विद्युत् व्यापार गरी आगामी १० वर्षभित्रमै विद्युत्बाट व्यापार घाटा करिब पाँच खर्ब घटाउन सक्ने अवस्था छ ।
त्यसैगरी मोहनकुमार डाँगीले यसअघि नै वरिष्ठ उपाध्यक्षमा उम्मेवारी घोषणा गरिसक्नुभएको छ । एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका डाँगीसँग एक दशक बढी जलविद्युत् क्षेत्रको विकासको अनुभव छ । उहाँ आफ्नो टिम बनाएरै प्रचारप्रचारमा होमिनुभएको छ ।
अध्यक्षका उम्मेदवार गणेश कार्की प्यानलसहित चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी तथा पाँच उपाध्यक्षमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तम भ्लोन लामा र हिमप्रसाद पाठक कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा छन् । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलाल पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धामा हुनुहुन्छ । पाँच सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेल, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थ प्रतिस्पर्धामा हुनुहुन्छ ।
सदस्यमा सिए उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणि नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टिएन आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुंगेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिशबहादुर पाललगायत रहनुभएको छ । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायत रहनसभएको छ । इपानमा सदस्यहरूको संस्थाको संख्या चार सय ५० नाघेको छ । तीन वर्षअघि दुई सय ५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्था झण्डै दुई सयले बढेको हो ।
इपानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनी सदस्य हुने व्यवस्था छ । प्रत्यक्षरूपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासमै लागेका एक सयभन्दा धेरै एसोसिएट सदस्य इपानमा आबद्ध रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इपानको २१औँ वार्षिक साधारणसभा जेठ ३२ गते हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच