आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छन् ढोरपाटनका बाढी पीडित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । “त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु म, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।” बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा वि.सं. २०७७ भदौ १७ गते विषण बाढी आयो । बाढीले सयौँलाई घरबार र आफन्तविहीन बनायो । बाढीमा परेका १५ जना अझै वेपत्ता छन् । यस वर्ष पनि बर्खा सुरु हुन थाल्यो । हरेक दिन सिमसिम पानी परि रहेको छ । अलि ठूलो पानी प-यो भने स्थानीय राति उठेर खोलामा पानीको बहाव के कति छ भनेर हेर्न पुग्छन् । तीन वर्ष अगाडि बाढीमा परिवार गुमाएकाहरु अहिले पनि उत्तिकै त्रासमा छन् ।

भए भरको सम्पत्ति र आफन्त गुमाउने मध्येका स्थानीय निमप्रकाश विक पनि हुनुहुन्छ । बाढीले विकको २५ वर्षीया श्रीमति चनी विक, ९ वर्षीय जेठो छोरो, २ वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित भए भरको जायजेथा सबै बगाएको थियो । विकका परिवारका सबै सदस्य बाढीमा परेरपछि एक्लो बन्नु भएको थियो । अहिले विकले ढोरपाटन नगरपालिका–९ सुप्राङमा घर बनाएर बस्नु भएको छ । भौगोलिक हिसाबले दुर्गम र अप्यारो भू–भाग हुँदा पानी पर्दा जागराम बस्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

बाढी आउँदाको रात आफू बुकीमा पूजा गर्न गएको हुँदा आफ्नो ज्यान बँचेको उहाँ बताउनुहुन्छ । बाढीले सबै सम्पत्तिसमेत बगाइदिँदा काम गरेर काने जग्गा समित कतै नभएको विकले दुखेसो पोख्नुभयो । नगरपालिका तथा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भएको रकमले बस्ने घर बनाएको भन्दै आफूलाई गरि खाने जग्गा जमिनको खाँचो परेको उहाँले बताउनुभयो ।

विक भन्नुहुन्छ- “बाढीले मेरो परिवार लगेको तीन वर्ष बित्यो, अहिले पनि उनीहरुको झझल्को आइ रहन्छ, यो खोलामा कहिल्यै पनि त्यसरी बाढी आएको थिएन, त्यस दिन (१७ भदौ २०७७) त्यति ठूलो पानी पनि परेको थिएन, म विहानै बुकीमा पूजा गर्नु थियो र लेक तिर गएँ, भोली पल्ट जताततै गाउँमा बाढी आएको हल्ला सुने गाउँमा आउँदा श्रीमति, छोराछोरी र सम्पत्ति केही थिएन, जसरी पनि बाँच्न पर्दो रहेछ, अहिले जसोतसो दैनिकी चलि रहेको छ, बर्खा लाग्न थाल्यो फेरि पनि त्यस्तै घटना हुन्छ कि भन्ने डरले सताइरहन्छ ।”

ADVERTISEMENT

सोही बाढीमा ढोरपाटन नगरपालिका-९ का कुलबहादुर विकका परिवार चार सदस्य परे । बाढीले उहाँको घर जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले घरबासविहीन बनाएपछि विक परिवार लामो समय माइतीको आश्रय लिएर बसेको थियो । अहिले ऋण धन गरेर ढोरपाटनमा घर बनाउनु भएको छ । बाढी आउँदाका रात विक आफ्नो श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा जानु भएको थियो । आफूहरु बारीमा गएको बेला बाढी आउँदा ज्यान बचेको कुलबहादुर बताउनुहुन्छ ।

“बाढी आउँदाको दिउसो दुम्सीले मकै खाएर हैरान पारेको थियो, त्यही भएर घरमाथिको बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यही सानो गोठ थियो र हामीहरु गोठमै बस्यौँ, भोलीपल्ट तल झर्दा घरको नामनिसाना केही थिएन, छोरो, बुहारी, छोरी र नातिनी पनि थिएनन्” विकले स्मरण गर्दै भन्नुभयो – “सायद हाम्रो पिठो सकिएको रैनछ र बच्यौँ, त्यस दिन माथि गोठमा नगएको भए हामी सबैको एउटै चिहान हुने रैछ, त्यो दिनको सम्झनाले अहिले पनि तर्साइरहेको छ ।”

बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का १३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलान पुल पाँच वटा काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?