पहिचानको आन्दोलन अझै सकिएको छैन : चौधरी

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले थरुहट प्रदेश कायम गर्ने आवाज फेरि उठाउने संकेत गर्नुभएको छ । आइतबार दाङको लमहीमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पहिचानको आन्दोलन अझै नसकिएको भन्दै देशमा रहेका प्रदेशहरूको नाम पहिचानको नामबाट कायम गरिनुपर्ने बताउनुभएको हो ।

‘आफ्नो जनता खुसी भएको देख्न नसक्ने कुनै राज्य व्यवस्था हुन्छ र आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कुनै राज्य व्यवस्था हुन्छ ? कृपया यस्तो नहोस् ।’ चौधरीले भन्नुभयो, ‘अहिले पनि लाग्छ, तराईका थारूहरूको नाममा थरुहट प्रदेश मात्रै लेखिदिनूस्, त्यो थरुहट प्रदेश लेखिएको संविधानभित्र धारा, उपधाराभित्र कतै थारूको अधिकार नलेखिदिनूस्, मात्रै थरुहट प्रदेश लेखेको नाममा यहाँका थारूहरूले हजारौँ, लाखौँ सुँगुरको बलि एकैदिनमा दिन्छन् र खुसियाली साट्छन्’ ।

ADVERTISEMENT

उहाँले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने तर्क पनि गर्नुभयो । टीकापुर घटना घटाउने असली ‘हत्याराहरू’को खोजी गर्न नेता चौधरीले मागसमेत गर्नुभयो । ‘असली हत्याराहरूको खोजीनीति गरौँ । खोजीनीति गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, उहाँले भन्नुभयो, ‘टीकापुर घटनाको बारेमा अतिरञ्जित कुरा नगर्नुहोस्, टीकापुर घटनामा सबैभन्दा पहिला रामविहारी थारू शहीद भएका थिए । एउटा थरुहट आन्दोलनमा एउटा थारू सिपाइ मारिन्छ, यो सम्भव कुरा हो, अहँ होइन । यो केलाइनुपर्छ । गलत कुराको अन्त्य गरिनुपर्छ, पीडितले न्याय पाउनुपर्छ ।’

जेलबाट छुटेपछि पहिलोपल्ट दाङ आएका रेशम चौधरीलाई नागरिक अभिनन्दन गरिएको छ । चौधरी थारू बाहुल्य जिल्लाहरूमा पुग्न थाल्नुभएको छ । नागरिक उन्मुक्ति पार्टी दाङ क्षेत्र नं. १ ले लमही बजारको चौराहमा अभिनन्दन कार्यक्रम राखेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट दुईवटा प्रदेशसभा र एकवटा प्रतिनिधिसभामा उम्मेदवारसमेत खडा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?