अत्यधिक गर्मी बढेपछि मलेसियासहितका देशमा बाहिर काम लगाउन रोक

Read Time = 6 mins

रमेश भारती/हिटा
काठमाडौं । साउदी अरबको रियादमा अहिले ५० डिग्रीमाथि तापक्रम छ । तापक्रम बढेसँगै दिउँसो काम गर्न समस्या हुन थालेको साउदीमा कार्यरत झापा बुधबारेका रवीन क्षत्रीले जानकारी दिनुभयो । अहिले उच्च तापक्रम भएका कारण साउदीको स्वास्थ्य विभागले रोजगारदाता कम्पनीलाई दिउँसो १ बजेदेखि ४ बजेसम्म श्रमिकलाई बाहिर काम नलगाउन सूचना जारी गरेको क्षत्रीले बताउनुभयो । ‘साउदीमा अहिले धेरै रोजगारदाता कम्पनीहरूले विदेशी कामदारलाई बाहिर काम लगाउन छाडेका छन् । तामक्रम बढेपछि तातो हावा चलेका कारण बाहिर निस्कन र काम गर्न सक्ने अवस्था छै्रन’ उहाँले भन्नुभयो, ‘तातो हावा चल्न थालेपछि रोग पनि लाग्छ । त्यही भएर यहाँ अहिले कतिपय इनडोर पनि काम गर्न सकिँदैन । त्यही भएर भित्री काम पनि बिहान र बेलुका मात्र गर्नुपर्ने अवस्था भएको छ ।’

क्षत्री जस्तै, मलेसियाको कृषि संकलन केन्द्रमा कार्यरत पाँचथरका कुमार लिम्बू पनि त्यहाँ तापक्रम बढेका कारण बाहिर निस्कन समस्या हुन थालेको बताउनुहुन्छ । मलेसियामा यो साता ४४ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । जसकारण बाहिर निस्कन सक्ने अवस्था नभएको उहाँले जानकारी दिनुभयो । ‘मलेसियामा दिउँसो अत्यधिक गर्मी छ । बाहिर त निस्कन सक्ने अवस्था छैन । तापक्रम बढेका कारण तातो हावा पनि चल्न थालेको छ । तातो हावा चलेपछि श्वासप्रश्वास, आँखा पाक्ने र अन्य स्वास्थ्य समस्या देखिन्छ’ उहाँले भन्नुभयो, ‘मलेसियाका कतिपय निर्माण कम्पनीहरूले यही सातादेखि बिहान र साँझ मात्र काम लगाउन थालेका छन् । टिनको टहरा भएका कम्पनीहरूले पनि कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै दिउँसो काम लगाउन रोक लगाउन थालेका छन् ।’

लिम्बू र क्षत्रीजस्तै, खाडी देश र मलेसियामा हाल करिब १७ लाख नेपाली कार्यरत रहेको श्रम मन्त्रालयका आँकलन छ । विगत वर्षहरूका तथ्यांक हेर्दा जुनदेखि अगष्टसम्म गर्मीका कारण बढी मात्रामा नेपाली कामदारको ज्यान जाने गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्यांकमा छ । मौसम परिवर्तनका हिसाबले अत्यन्तै खराब सिजनका रूपमा लिइने जुनदेखि अगष्टसम्म छहारीमा पनि तापक्रम ५५ डिग्री सेल्सियस पुग्ने गरेको मलेसिया र खाडीका स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

ADVERTISEMENT

खाडी देशमा गर्मीयाममा पानी नपर्ने, अत्यधिक तातो हावा चल्ने, धुलो उडेर जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरेको त्यहाँ कार्यरत कामदारहरूले बताउँदै आएका छन् । खाडी देशका तुलनामा राम्रो हावापानी रहेको मलेसियामा पनि तापक्रम पछिल्ला दिनमा लगातार ३५ डिग्री नाघेपछि त्यहाँका आठ जिल्लामा निर्माण मजदुरको स्वास्थ्यमा ध्यान दिन विशेष सर्कुलर जारी गरेको मलेसियाली अध्यागमन विभागले जनाएको छ । मलेसियामा समेत साढे चार लाख नेपाली कामदार कार्यरत रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । यस्तै, खाडी देशमा अत्यधिक रूपमा गर्मी बढेपछि दिउँसो १ बजेदेखि ४ बजेसम्म खुला ठाउँमा काम गर्न निषेध गरिएको छ भने सरकारी निर्णय उल्लंघन गर्ने रोजगारदाताहरूलाई ठूलो रकम जरिवानासहित कडा कारबाही गर्ने निर्देशन जारी गरिएको छ ।

यसैगरी, दिउँसो कार्य क्षेत्रमै आराम गर्ने कामदारहरूको शरीरको अत्यधिक नुन पसिनाबाट बग्दा कामदार कार्यस्थलमै ढल्ने, बेलुका क्याम्पमा पुग्दा शरीर नुनिलो पसिनाले सेतै भइसक्ने कामदारहरूले बताउँदै आएका छन् । कन्स्ट्रक्सन कम्पनीहरूलाई कार्यस्थलमा आराम गर्न छायायुक्त स्थल, पिउने पानीको प्रशस्त व्यवस्था गर्न सम्बन्धित देशका सरकारले निर्देशन दिएका छन् । प्रत्येक वयस्क कामदारलाई दैनिक न्यूनतम तीन लिटरभन्दा बढी पानी पिउनसमेत त्यहाँ स्वास्थ्य विभागले निर्देशन गर्दै आएका छन् । नेपाली कार्यरत खाडीका विभिन्न देश तथा मलेसियामा प्रचण्ड गर्मीबाट कामदारलाई जोगाउन विशेष सतर्कता अपनाउन रोजगारदाता कम्पनीहरूमार्फत आग्रह गरेको त्यहाँ कूटनीतिक नियोगहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?