महासंघमा रोजगार मेला सुरू

Read Time = 5 mins

काठमाडौं । काठमाडौंमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित रोजगार मेला महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको हो । महासंघको सचिवालयमा आयोजना गरिएको मेला बुधबारसम्म सञ्चालन हुनेछ । रोजगार मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहेको छ ।

कामको खोजीमा रहेका युवालाई मेलामा सहभागी कम्पनीमार्फत् कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसर खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको महासंघले जनाएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेण्डर इभेन्टका रूपमा अघि बढाउने बताउनुभयो । श्रम बजारमा रहेको रोजगारीको मिस म्याच समस्या समाधान गर्न रोजगार मेलाजस्ता कार्यक्रमले सघाउने उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘बजारमा दक्ष जनशक्ति अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ, यो मिस म्याच कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा महासंघ केन्द्रित छ ।’ कुल गार्हस्थ्य उत्पादनमा करिब ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ । केही समयदेखि अर्थतन्त्रमा आएको अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सिर्जना र अर्थतन्त्र विस्तारमा समेत समस्या आएको अध्यक्ष ढकालले बताउनुभयो । महासंघको वर्तमान नेतृत्वले अघि सारेका प्रमुख पाँच प्राथमिकतामा दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनासमेत रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पूरा गर्न सघाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

ADVERTISEMENT

वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका युवा र जनशक्ति खोजिरहेका उद्योग प्रतिष्ठानबीच पुलको काम गर्ने बताउनुुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक सौरभराम जोशीले मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जना, लगानी अभिवृद्धि गर्न स्वदेशी उत्पादन उपभोगलाई प्रमुख प्राथमिकता दिनुुपर्ने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगार मेला नेपालमा रहेको श्रमशक्तिको पहिचान गर्ने एउटा महत्वपूर्ण माध्यम हुने र सरकारले पनि यस्ता कार्यक्रम प्रवद्र्धनमा विशेष सहयोग गर्ने नीति रहेको बताउनुुभयो ।

रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ प्रतिष्ठित कम्पनीको सहभागिता रहेको जानकारी दिनुभयो । मेलामा कम्पनीहरूले छ सयभन्दा बढी रोजगारीका अवसर पेश गरेका छन् । दुुईदिने मेलामा करिब पाँच हजारले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
सो अवसरमा महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, कार्यकारिणी समितिका सदस्य, मेरो जबका व्यवस्थापन निर्देशक, रोजगार सेवा केन्द्रका प्रतिनिधि, आइएलओ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?