काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणाली गलत भयो भन्ने भाष्य प्रति चिन्ता ब्यक्त गर्नुभएकाे छ ।
१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले गणतन्त्रका बारेमा भईरहेका मिथ्या प्रचार चिर्नुपर्नेसमेत जनाउनुभएकाे छ ।
‘नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न,’ ओलीले आफ्नो सन्देशमार्फत भन्नुभएकाे छ , ‘यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ ।’
उहाँले बिगतमा भएको क्रुर दमनलाई यति चाँडै बिर्सन नहुने पनि जनाउनुभएकाे छ । उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रुर दमन, जनताका अधिकारहरू माथिका बन्देज र हुकुम नै कानून हुने परिपाटी सही थियो भन्ने होइन, त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन ।’
गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउँदै ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताउनुभएकाे छ ।
‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस,’ उहाँले आफ्नो सन्देशमा भन्नुभएकाे छ ।
बाआमा, दाजुभाइ, दिदीबहिनीले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको गणतन्त्र प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष ओलीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उल्लेख गर्दै जनता वास्तविक अर्थमा सार्वभौम बनेको यस दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिनको रुपमा स्मरण गर्नुपर्नेमा पनि जोड दिनुभएकाे छ ।
‘हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर गरेको सङ्घर्ष राज्य सञ्चालनमा रहेको वंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो, सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो’ भन्दै ओलीले नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित नहुन आग्रह गर्नुभएकाे छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच