वर्तमान सरकार रहिरहे देश टाट पल्टिन्छ : ओली

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने टिप्पणी गर्नुभएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औँल्याउनुभयो । मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, ‘पूर्णरूपमा अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब यदि १८ महिनाभित्र डेढ वर्षको स्थितिमा, अब यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ ।’

अहिलेकै सरकार निरन्तर रहे देश टाट पल्टिने दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदै छ । तर, एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । सम्पत्ति बढायो चालीस अर्ब । देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशतभन्दा बढी पठाउन सक्दिनँ भनेर सरकारले लत्तो छोडिसक्यो ।’

महालेखा एमालेलाई बदनाम गर्न लागेको आरोप
अध्यक्ष ओलीले महालेखा परीक्षकको कार्यालय नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको आरोपसमेत लगाउनुभएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्युटावर किन बनाएको भनेर लेखेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्राविरुद्ध प्रतिक्रियावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिँजाउने काम गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसाबकिताब होइन, दमकमा एउटा विशाल बिजनेस कम्प्लेक्स बनाइएको छ । साढे सात रोपनी जमिनमा १८ तला भवन बनेको छ । त्यहाँ मेडिकल कलेज चलाउने हो भने अट्छ, क्याम्पस चलाउने हो भने दुईवटा चलाउन सकिन्छ । तर, महालेखा परीक्षक हिसाब हेर्ने होइन बरु हिसाब नगरी त्यत्रो पैसा लगानी गरेर भवन बनाउने हो ? यो गलत हो भन्छ । सरकारले कुन काम गर्छ ? कुन योजना बनाउँछ, कसरी विकास गर्छ ? भन्ने महालेखा परीक्षकको काम होइन, हिसाब मात्र हेर्ने काम हो ।’

ADVERTISEMENT

ढुंगा हानेर हिँड्नेलाई देशको मतलव छैन
अध्यक्ष ओलीले आफूलाई ढुंगामुढा गर्नेमाथि व्यङ्ग्य गर्दै भलादमी काम गरेको टिप्पणी गर्नुभएको छ । कथित बुद्धिजीवीसमेत हिंसालाई बढाउन लागिपरेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘ग्रासरुटको अवस्था के कस्तो भयो भनेर बुझ्नु थियो, केही जिल्लामा हेर्ने भनेर निस्किएको थिएँ । केही भलादमी मान्छे भन्नुपर्ला, ढुंगा हान्नेलाई भलादमी भन्ने त होला नि ? यहाँ यत्तिकै हाहा हुँ हुँ गरेर कुद्नेहरू, चारवटा ढुंगा हानेर कुद्नेहरू, तिनलाई देशको के मतलव ?’

सांसद कोइरी निलम्बित
नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उहाँको सचिवालयले जानकारी दिएको छ । महोत्तरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् । कोइरीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको थियो । सो आदेशपछि उनी फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?