श्रमिक ‘हायर एण्ड फायर’ को व्यवस्था गर्न माग

Read Time = 6 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले औद्योगिक क्षेत्रमा श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न माग गरेको छ । सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेट गर्दै यस्तो माग गरेको हो । सो अवसरमा सिएनआईले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । सिएनआई अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले मागमा आएको उच्च संकुचनका कारण उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको भन्दै उच्च ब्याजदर, लगानीयोग्य पुँजी अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएको थियो ।

सिएनआर्ईले औद्योगिक श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न श्रममन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष अग्रवालले हालको अवस्था थप लम्बिएको अवस्थामा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चिँदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतमा सिएनआईको जोड छ । सो अवसरमा मेक इन नेपाल स्वदेशी अभियान, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावसहितको परिसंघको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणामा छलफल भएको थियो ।
मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन सिएनआईका सुझावका लागि धन्यवाद दिँदै पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुभएको सिएनआईले जनाएको छ । सो अवसरमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, परिसंघ रोजगारदाता परिषद् सभापति अमित बेगानी, परिसंघ राष्ट्रिय परिषद् सदस्य अमित मोर, महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता थियो । राजनीतिक अस्थिरतासँगै सरकार तथा मन्त्रीहरू छिटो परिवर्तन हुँदा सिएनआईलगायत निजी क्षेत्रका छाता संगठनहरूले अधिकांश समय प्रधानमन्त्रीदेखि नवनियुक्त मन्त्री र उच्च सरकारी अधिकारीहरूसँगको भेटघाटमै बिताउने गरेका छन् । तर, कार्यान्वयनको चरणमा पुग्दानपुग्दै सरकार वा मन्त्री नै फेरिने गरेको अवस्थाले निजी क्षेत्र हैरान छ ।

ADVERTISEMENT

औद्योगिक मेलाका लागि ७० प्रतिशत बुकिङ
उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ । प्रदर्शनी वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ । इच्छुक उद्योगीले वैशाख १७ गतेसम्म बुकिङ गर्न सक्ने आयोजकले जनाएका छन् । चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा वैशाख २४ गतेसम्म आयोजना हुने प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगका उत्पादन र सेवाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी स्टल रहने परिसंघले जनाएको छ ।

उद्यमीलाई आधुनिक प्रविधि अनुशरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने प्रदर्शनीमा स्वदेशी एवं विदेशी उद्योगीबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ, लेबलिङ र प्याकेजिङ प्रक्रियाका सम्बन्धमा अनुभव आदानप्रदानमार्फत् ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा पहुँच पुर्‍याउन महत्वपूर्ण अवसर प्राप्त हुने आयोजकले जनाएको छ । प्रदर्शनीकै क्रममा औद्योगिक प्रवद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रियासमेत आयोजना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?