काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा २०१५ सालको आम निर्वाचनमा धनकुटाबाट निर्वाचित सांसद तेजमान तुम्बाहाम्फेको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले भन्नुभएको छ, ‘नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । स्वर्गीय तेजमान तुम्बाहाम्फेले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा पु¥याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामनासाथ उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
वि.सं. १९८१ साल फागुन ६ गते पिता मचिन्द्रबहादुर तुम्बाहाम्फे र माता तौलीहाङमा जवेगु तुम्बाहाम्फेको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका तुम्वाहाम्फे पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक बिपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य हुनुहुन्थ्यो ।
स्वर्गीय तुम्बाहाम्फेप्रति उच्च सम्मान प्रकट गर्दै २०७९ चैत्र २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउनुका साथै चैत्र २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभएको छ । १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गरिने पनि उनको भनाइ छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा