काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबाबमा नगरेको र उक्त विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्टीकरण दिनुभएको छ । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले रविको मुद्दा प्रक्रियागत रूपमा नै टुंगिएको जिकिर गर्नुभयो ।
महान्यायाधिवक्ता पोखरेलले भन्नुभयो, ‘प्रकियासम्मत रूपमा छानविन टुंगिएको हो । राजनीतिक सौदावाजी र दबाबमा टुंगिएको हैन, तपाईंहरूलाई महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त हुने भएकाले राजनीतिक रूपमा टुंग्यायो भन्ने लाग्ला । तर, हामी विधि र प्रक्रियाअनुसार मुद्दा नचल्ने निर्णय गरेको हो ।’
महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेस गर्न भनिएको र त्यसैअनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको बताउनुभयो । प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताले पनि सदर गर्नुभएको थियो ।
‘राहदानीको विषयमा कतै त्रुटि देखिएन, हाम्रो निर्णयको स्वामित्व हामी लिन्छौँ’
महान्यायाधिवक्ता पोखरेलले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटि छ भनेर अदालतले कतै लेखेको रहेनछ । भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौं सरकारी वकिल कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, मकहाँ आउँदा पनि यहाँभित्र पनि एकजना सहन्यायाधिवक्ता र एकजना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ’ उहाँले भन्नुभयो, ‘राहदानी प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ ।’
बलात्कारका घटनामा पीडितहरू बयान फेर्ने भएकाले साक्षीको सुरक्षा गरिने
महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरूले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाको लागि आवश्यक काम गरिरहेको स्पष्ट पार्नुभयो । महान्यायाधिवक्ता पोखरेलले भन्नुभयो, ‘बलात्कारका घटना पीडितहरूले बयान फेर्ने कामहरू यसमा हामीले साक्षीको सुरक्षाको कुरा हाम्रो प्राथमिकताका कार्यक्रम हुन् । यो हाम्रो रणनीतिक योजना पनि उल्लेख गरिएको छ । पछिल्लो दिनमा हामीले यसलाई समावेश गरेका छौँ, पीडितको सुरक्षा, साक्षीको सुरक्षाका कुरा हामीले समावेश गरेका छौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा