एनआरएनए इन्भेष्टमेन्ट कम्पनीलाई सेयर लगानीमा रोक

Read Time = 6 mins

काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीका लागि नेपाल सरकारले विभिन्न एक दर्जन बढी शर्त तोकेको छ । गैरआवासीय नेपाल(एनआरएनए) र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमार्फत् शर्त तोकेको हो । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले एनआरएनए र नेपाल सरकारले संयुक्तरूपमा लगानी गरी स्थापना भएका कम्पनीलाई राजपत्रमा सूचना प्रकाशन गरी शर्त तोकिएको बताउनुभएको छ ।

उद्योगका रूपमा इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा लगानी गरिने उद्योगको क्षेत्र तोकेरमात्र उद्योग दर्ता गर्नुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा लगानी गरिने क्षेत्र नेपालभित्र मात्र हुने गरी तोक्नुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीको उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खुलेको विवरण अनिवार्य संलग्न गराउनुपर्ने, इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा उद्योग दर्ता गर्ने निकायले प्रचलित कानुनमा तोकिएका शर्तका अतिरिक्त इन्भेष्टमेन्ट कम्पनी उद्योगका रूपमा दर्ता हुन वा स्थापना हुन न्यूनतम लगानी एक अर्ब नेपाली रुपैयाँ हुनुपर्ने राजपत्रमा उल्लेख छ ।

कम्पनीले सहकारीले गर्ने कार्य गर्न नपाउने, शेल बैंकसँग आर्थिक कारोबार गर्न नपाउने, स्टक एक्सचेन्जको दोस्रो बजारमार्फत् सेयर डिबेन्चर खरिद गर्न नपाउने बताइएको छ ।

त्यस्तै, प्रचलित औद्योगिक व्यवसाय ऐनअनुसार वर्गीकरण भएका उद्योग तथा प्रचलित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी गर्न खुला गरिएका उद्योगमा मात्र लगानी गर्नुपर्ने, सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले अनुमति दिएका क्षेत्रमा प्रतिपरियोजना कम्तीमा १० करोड नेपाली रुपैयाँभन्दा कम नहुने गरी लगानी गर्न सक्ने, इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सेयर पुँजीका रूपमा मात्र लगानी गर्न पाउने र ऋण, ऋण सुविधा, बोन्ड, डिबेन्चरमार्फत् लगानी गर्न नपाउने बताइएको छ । तर, नेपाल सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीले पूर्वाधारसम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउनेछ ।

ADVERTISEMENT

इन्भेष्टमेन्ट कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुनबमोजिमको कुनै पनि कार्य गर्न नपाउने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रत्येक लगानी गर्ने क्षेत्रका लागि उद्योग दर्ता गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति लिनुपर्ने तर नेपाल सरकार र इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्ने गैरआवासीय नेपालीको लगानीको विवरण र आवश्यक कागजातसहित कम्पनीले नै लगानीकर्ताको नामबाट विदेशी लगानी स्वीकृत गराउन सक्ने उल्लेख छ ।

त्यसैगरी विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा नेपालमा गरिने लगानीको पुँजी विदेशी वा नेपाली मुद्रा कुनमा गरिने हो सो समेत खुलाउनुपर्ने, इन्भेष्टमेन्ट कम्पनीको दर्ता र नियमन प्रचलित औद्योगिक व्यवसाय ऐन तथा अन्य प्रचलित कानुनबमोजिम हुने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले विदेशबाट रकम भिœयाउँदा र रकम बाहिर लैजाँदा प्रचलित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावली र नेपाल राष्ट्र बैंकले समय–समयमा लिने नीति, निर्देशन र प्रक्रियाको पालना गर्नुपर्नेछ भने कम्पनीका लगानीकर्ताको हकमा रकम नेपालबाहिर लैजाँदा नेपाल सरकारले छुट्टै प्रक्रिया तोक्नेछ ।

इन्भेष्टमेन्ट कम्पनीले सहकारी ऐनबमोजिम स्थापित एवं सञ्चालित सहकारीले गर्ने कार्य गर्न नपाउने, शेल कम्पनीबाट लगानी गर्न र शेल बैंकसँग आर्थिक कारोबार गर्न नपाउने, स्टक एक्सचेन्जको दोस्रो बजारमार्फत् सेयर डिबेन्चर खरिद गर्न नपाउने, धितोपत्र दलाल, बजार निर्माता, रियल स्टेट कारोबारलगायतका क्षेत्रमा लगानी गर्न नपाउने, स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने र विदेशी बैंकको बैक ग्यारेन्टीका आधारमा स्वदेशी बैंकबाट ऋण नपाउने र इन्भेष्टमेन्ट कम्पनीको अनुगमन उद्योग विभागले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?