सेयरका लगानीकर्तालाई बोर्डको २० बुँदे सचेतना

Read Time = 6 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा विवेकशील भई लगानी गर्न सचेत गराएको छ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक २०२३) का अवसरमा धितोपत्र बजारमा लगानी गर्ने युवा तथा सर्वसाधारण लगानीकर्ताका लागि बोर्डले २० बुँदामा मुख्य सन्देश जारी गर्दै सचेत गराएको हो ।

धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै– फेसबुक, क्लबहाउस, युट्युब तथा टिकटक आदि) मार्फत् प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकाले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शका आधारमा मात्र लगानीसम्बन्धी निर्णय नलिन बोर्डले सचेत गराएको छ ।

त्यसैगरी नयाँ-नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहन, धितोपत्र बजारमा समय–समयमा उतार–चढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानीसम्बन्धी निर्णय लिन पनि आग्रह गरेको छ ।

धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरणलगायतका जानकारी लिई स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानी उपकरण छनोट गरी लगानी निर्णय गर्न भनेको छ ।

ग्लोबल मनि विक २०२३ का अवसरमा धितोपत्र बजारमा लगानी गर्ने युवा तथा सर्वसाधारण लगानीकर्ताका लागि बोर्डले २० बुँदामा मुख्य सन्देश जारी गर्दै सचेत गराएको हो ।

धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग हुन, मुद्रास्फीति, तरलता तथा ब्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषय मनन गरी लगानीसम्बन्धी निर्णय लिन बोर्डको सुझाव छ ।

ADVERTISEMENT

साथै धितोपत्रको लगानीमा हुने जोखिम न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिन, दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकारी राख्न, आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर लगानी गर्न भनिएको छ ।

धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनसम्बन्धी आधिकारिक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिका वेबसाइट हेर्न तथा धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासा भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्कासनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत् मात्र कारोबार गर्न र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नियमितरूपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशनमार्फत् सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भई बजार तथा लगानीसम्बन्धी आवश्यक ज्ञान हासिल गर्न सकिने पनि बोर्डले जनाएको छ ।

धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणितरूपमा जारी गरेको कार्यसम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै, लाभांश घोषणा, हकप्रद सेयर घोषणा, व्यवस्थापन परिवर्तन, भावी योजना, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांक, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारणसभाको निर्णय र कम्पनीसँग सम्बन्धित उद्योग क्षेत्रको अवस्थालगायत महत्वपूर्ण पक्ष अध्ययन गर्न पनि बोर्डले औंल्याएको छ ।

प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आहृवानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तर जस्ता महत्वपूर्ण पक्ष विश्लेषण गर्न भनिएको छ । धितोपत्र कारोबारबापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाबारे जानकारी लिन, दुई दिनको राफसाफ चक्रबारे जानकारी राख्न र धितोपत्र कारोबार गर्दा बैंकमार्फत् मात्र रकमको लेनदेन गर्नुपर्नेलगायतका विषयमा पनि बोर्डले सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?