तत्कालीन राजा ज्ञानेन्द्र राजनीतिक रूपमा पहिलो पटक सडकमा

व्यवसायी दुर्गा प्रसाईंद्वारा ‘धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

झापा । तत्कालीन राजा ज्ञानेन्द्र शाह राजनीतिक रूपमा पहिलोपटक सडकमा देखिनुभएको छ । धार्मिक कार्यक्रममा मात्र देखिनुहुने शाह सोमबार खुलेरै राजनीतिक कार्यक्रममा देखिनुभएको हो । व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले सुरु गर्नुभएको ‘धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ कार्यक्रममा ज्ञानेन्द्र, तत्कालीन युवराज पारस शाहसहित राजपरिवारका सदस्यहरूलाई देखिनुभएको हो । तर, यस अभियानका क्रममा तत्कालीन रानी कोमल र तत्कालीन युराज्ञी हिमानी भने देखिनुभएन ।

झापाको काँकडभिट्टास्थित मेची पुलबाट प्रसाईंले महाअभियान सुरुवात गर्नुभएको छ । जसको उद्घाटन ज्ञानेन्द्र शाहले गर्नुभएको हो । महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ गर्ने बताइएको छ ।

तत्कालीन राजा शाहले शान्तिका प्रतीक सेता परेवाको जोडीसमेत उडाउनुभएको थियो । उद्घाटनमा केहीबेर बसेर शाहसहित उहाँको परिवारका सदस्यहरू कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो । तत्कालीन राजा शाहले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए पनि सम्बोधन भने गर्नुभएन । राजपरिवार कार्यक्रमस्थलबाट हिँड्नेबित्तिकै महाअभियानका संयोजक प्रसाईंले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उहाँले संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘एक करोड नेपालीलाई खाडी मुलुक पठाउने यस्तो गणतन्त्र हामीले कल्पना गरेका थिएनौँ । यस्तो गणतन्त्र किन चाहियो ?’ उहाँले सनातन धर्मको रक्षाका लागि अभियान थालिएको बताउनुभयो । यो अभियानमा ऐक्यबद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई उहाँले अपिलसमेत गर्नुभएको छ ।

ज्ञानेन्द्र र पारससँगै राजपरिवारका सदस्यहरूलाई हेर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङलगायत स्थानबाट हजारौँ मानिसहरू आएका थिए । परिवारबाट बाहिर रहँदै आउनुभएका पारस पछिल्लो समय भने परिवारसँगै देखिन थाल्नुभएको छ ।

ADVERTISEMENT

प्रसाईं सत्ता साझेदार दल नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । चितवनमा गत वर्ष भएको दशौँ महाधिवेशनपछि प्रसाईंलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो । उहाँलाई केन्द्रीय सदस्यसँगै ओलीले मोतीलाल दुगड प्रमुख रहेको उद्योग विभागको उपप्रमुखको जिम्मेवारीसमेत दिनुभएको थियो ।

कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट प्रसाईं तत्कालीन नेकपा विभाजनपछि ओलीनजिक हुनुहुन्थ्यो । तर, गत मंसिरमा सम्पन्न निर्वाचनमा टिकट नपाएपछि प्रसाईं र ओलीबीच सम्बन्ध चिसिएको छ । पछिल्लो समय प्रसाईं पूर्व–राजपरिवारसँग नजिकिए पनि एमालेले उहाँलाई जिम्मेवारीबाट हटाइसकेको भने छैन । उहाँ अझै केन्द्रीय सदस्य र उद्योग विभाग उपप्रमुखमा कायमै हुनुहुन्छ ।

प्रसाईंले आफूले सुरु गरेको महाअभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईंले देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको भन्दै यो कुनै पार्टी र व्यक्तिविरुद्ध महाअभियान नभएको स्पष्ट पार्नुभएको छ । अभियानका लागि भन्दै उहाँले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?