उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार, सांसद पद यथावत

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको आदेशसँगै गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने भएको छ ।

“प्रत्यर्थी रवि लामिछानेमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुने योग्यता रहेको वा नरहेको भन्ने विवादित प्रश्न रहेको छ”, आदेशमा भनिएको छ, “यसरी उठाइएका प्रश्नहरूको छिटो छरितोरूपमा निवेदन उपर पूर्ण सुनुवाइ गर्न निरुपण गर्न मनासिव हुने देखियो, अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।”

अदालतले दिएको आठ बुँदे आदेशमा विवादको सुनुवाइ अग्राधिकार प्रदान गरी छिटो छरितोरूपमा सम्पन्न गर्नु आवश्यक देखिएको हुँदा पूर्ण सुनुवाइका लागि आगामी माघ ११ गते बुधवार पेश गर्नु भनिएको छ ।

आदेशमा आगामी माघ ११ गतेसम्ममा लिखित बहसनोट पेश गर्न रिट निवेदक तथा प्रत्यर्थी दुवै पक्षलाई जानकारी दिन र प्रत्यर्थीमध्येका लामिछानेको उम्मेदवारीको सम्बन्धमा निर्वाचन आयोगबाट गत मङ्सिर १३ मा भएको निर्णयसम्बन्धी सक्कल निर्णय र कागजात सात दिनभित्र झिकाउन भनिएको छ ।

ADVERTISEMENT

आदेशमा भनिएको छ, “अदालतले २०७५र३र६ मा अध्यागमन विभागमा पेश गरेको कागजात, सो सम्बन्धमा भएको कारवाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सातदिन भित्र झिकाउनु ।”

आदेशमा लामिछानेको सम्बन्धमा जिम्मेवारीपूर्वक छानबिन तथा अनुसन्धान गर्नु भनी गृह मन्त्रालयको गत मङ्सिर १२ मा जिल्ला प्रशासन कार्यालयमा पठाएको र सो कार्यालयकोे पत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको भनी प्रत्यर्थी जिल्ला प्रशासन कार्यालयको लिखित जवाफमा उल्लेख भएबमोजिमको कारवाही फायल सम्बन्धित प्रहरी कार्यालयबाट सात दिनभित्र झिकाउनु भनिएको छ ।

संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफलका लागि आजका लागि बोलाउने निर्णय गरेको थियो ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधानमन्त्री लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा थियो । तर अदाललतले उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?