काठमाडौं । निर्वाचनको प्रारम्भिक नतिजाले कांग्रेस र एमाले प्रत्यक्ष र समानुपातिकमा पहिलो वा दोस्रो हुने क्रम जारी रहँदा तेस्रो र चौथोमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी देखिएका छन् । प्रारम्भिक नतिजाको प्रवृत्तिले खासगरी ठूला र स्थापित दलहरूलाई झस्काएको र आउँदा दिन उनीहरूका लागि निकै चुनौतीपूर्ण हुने देखिएको विश्लेषण गर्न थालिएको छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिका रूपमा उदाउने संकेत प्रारम्भिक मत परिणामले देखाएको छ । अन्य स्थानमा पनि प्रभावकारी मत प्राप्त गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले विशेष गरी चितवनबाट ठूलो मात्रामा मत प्राप्त किन गरिरहेको छ भन्ने प्रश्नमा अधिकांशको ध्यान केन्द्रित भएको छ ।
त्यसो त चितवन हरेक लोकतान्त्रिक आन्दोलनको किल्ला मानिन्छ । विगतमा भएका प्रजातान्त्रिक आन्दोलनहरूमा चितवनका जनता तथा नेताहरूको उल्लेख्य सहभागिता छ । यो क्षेत्रबाट थुप्रै जना लोकतन्त्रका लागि शहीद पनि भएका छन् । परिवर्तनका लागि संवाहकका रूपमा आफ्नो परिचय विगतमा चितवनले स्थापित गरेको छ । सैद्धान्तिक राजनीति र परिवर्तनका लागि चितवनका जनताहरू सधँै अग्रसर भएको पाइन्छ ।
राष्ट्रिय रूपमा हरेक प्रजातान्त्रिक आन्दोलनहरूमा मुख्य भूमिका खेल्ने मुख्यतः नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत दलहरूले चितवनलाई आफ्नो पकड क्षेत्रका रूपमा मान्दै आएका छन् । पुराना दलको मार्गमा चितवनका नेताहरू सरिक भएर लागेका छन् । पुराना दलका संगठन पनि बलिया छन् । तर, अहिले आएर एकाएक चितवन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाउनुले चितवनलाई विशेष रूपमा हेर्न थालिएको हो ।
दलका उम्मेदवारलाई किन विश्वास गरेनन् मतदाताले ?
प्रारम्भिक चुनावी परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएसँगै जिल्लाका सबै तीन निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेका उम्मेदवार पछाडि परेका छन् । सत्तारूढ गठबन्धनका उम्मेदवार चितवनका सबै निर्वाचन क्षेत्रमा तेस्रो स्थानसम्म झरेका छन् ।
चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे तथा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेलका लागि भारी भइरहनु भएको छ । त्यस्तै, चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठका लागि भारी भइरहनु भएको छ । चितवन–३ मा भने प्रारम्भिक मतगणनाको परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे पहिलो स्थानमा देखिनुभएको छ भने उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले पछ्याइरहनु भएको छ र सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा हुनुहुन्छ । यही निर्वाचन क्षेत्रमा कांग्रेस पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार दिएपछि एमालेले समर्थन गरेका दिनेश कोइरला र स्वतन्त्र उठ्नुभएका कांग्रेसका अर्का पुराना नेता जगन्नाथ पौडेलसमेत हुनुहुन्छ ।
विगतका हरेक निर्वाचनमा चितवनबाट प्रमुख पार्टी एमाले, कांग्रेस तथा माओवादीहरूको प्रतिनिधित्व रहन्थ्यो भने योपटक ती प्रमुख दलहरूका उम्मेदवारलाई जित्न कठिन देखिएको छ । चितवनबाट नेपालको प्रत्येक लोकतान्त्रिक आन्दोलनको नेतृत्व ती प्रमुख दलहरूले विगतमा गरे तापनि अहिले त्यहाँका जनताहरूले नै दलहरूप्रति विश्वास नगरेपछि चितवनका मतदातालाई विभिन्न कोणबाट हेर्न थालिएको हो ।
चितवनमा दलहरूका उम्मेदवार पछि पर्नुमा दलबाट उम्मेदवार बनेकाहरूप्रति जनताहरूको विश्वास नरहेको बताउनुहुन्छ कानुन व्यवसायी तथा मानव अधिकारकर्मी अधिवक्ता उद्धवबहादुर लोहनी । उहाँ भन्नुहुन्छ, ‘कांग्रेसले उम्मेदवार बनाएका उमेश श्रेष्ठ, जो राज्यमन्त्री हुनुहुन्छ, उहाँलाई जनताले रुचाएको देखिएन । किनभने उहाँले पार्टीको मूल नेतृत्वलाई रिझाएर टिकट लिनुभयो । कांग्रेसको नेतृत्वले पनि चुनावी मैदानका लागि ग्राउण्डमा बढी समर्थन पाएको व्यक्तिभन्दा अर्कैलाई उम्मेदवारी दिनुभयो ।’ यसरी पार्टीको नेतृत्वले कार्यकर्ताहरूको बढी समर्थन भएको व्यक्तिलाई भन्दा अरूलाई टिकट दिँदा स्वयम् पार्टीका कार्यकर्ताहरूकै सहभागिता नदेखिएको अधिवक्ता लोहनीको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘यसरी कार्यकर्ताको बलियो समर्थन भएकालाई टिकट नदिँदा मतदाताहरू त बरु स्वतन्त्रमै ठिक छ भन्नेमा गए ।’
त्यस्तै, गठबन्धनका उम्मेदवार विश्व पौडेलले पनि चुनावमा राम्रो मत ल्याउन नसक्नुको पछाडि उहाँको लोकतन्त्र स्थापनाका लागि धरातल कमजोर भएको अधिवक्ता लोहनीको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘पार्टी नेतृत्वले च्यापेर विश्व पौडेललाई टिकट दिए पनि पार्टी योगदान र राजनीतिक आन्दोलन तथा लोकतन्त्र स्थापनाका लागि अन्य धेरै नेताले योगदान पु¥याउनुभएको छ । तर, ती कसैलाई टिकट नदिएर ‘पढेको व्यक्ति’ भनेकै आधारमा पौडेललाई टिकट दिँदा धेरै कार्यकर्ताहरू नै निराश बने ।’ पौडेललाई अपरिपक्वतामै टिकट दिएर चुनाव लडाउँदा सिंगो पार्टी नै कमजोर बनेको लोहनीको टिप्पणी छ ।
त्यस्तै, गठबन्धनले उम्मेदवार बनाएका भोजराज अधिकारीप्रति पनि पार्टी कार्यकर्ताको समर्थन देखिएन । उहाँले पर्याप्त मत नपाउनुमा चितवन–३ मा बलियो दाबेदार कांग्रेस हुँदाहुँदै देउवाले माओवादीलाई समर्थन गर्नु मूल कारण रहेको लोहनीको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘क्षेत्र नं. ३ त नेपाली कांग्रेसकै मेरुदण्ड हो । तर, यसको चाबी देउवाले प्रचण्डलाई बुझाइदिनुभयो । नेपाली कांग्रेसको बहुमत हुँदाहुँदै माओवादीको उम्मेदवार उठाएपछि कार्यकर्तामा चरम निराशा छाएको हो ।’
त्यसो त माओवादी द्वन्द्वकालमा धेरै जनताहरूले यस निर्वाचन क्षेत्रमा ज्यान गुमाएका छन् । धेरैले आफन्त गुमाएका छन् । द्वन्द्वकालमा माओवादी आन्दोलनको ज्यादती भोगेका यहाँका जनताले गठबन्धनबाट माओवादीलाई उम्मेदवार बनाएपछि कांग्रेसले त्यो सहन सकेन र मतदाताहरूले बरु परिवर्तनका खातिर भनेर स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट दिएको अधिवक्ता लोहनीको जिकिर छ ।
भोजराज अधिकारीलाई बढी मत नआउनुको कारण त्यस क्षेत्रमा कांग्रेसको पकड हुँदाहुँदै राजनीतिको पर्याप्त अनुभव नभएकालाई टिकट दिनुको परिणाम रहेको उहाँको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘प्रचण्ड त्यसै चितवन छाडेर गोरखा गएका होइनन् । एक त यहाँका मतदाताले माओवादीलाई समर्थन गर्दैनन् भन्ने उनलाई थाहा थियो । उनको जितको पनि सुनिश्चितता भएन । त्यसकारण उनी चितवनबाट गोरखा गए । उनी गएपछि पनि माओवादीको बलियो उम्मेदवार कोही थिएन बरु कांग्रेसमै थिए । तर, टिकट माओवादीले लिएपछि कांग्रेसका कार्यकर्ताहरूले माओवादीलाई भोट हाल्नुभन्दा त परिवर्तनका निम्ति स्वतन्त्र नै रोजेका हुन् ।’ गठबन्धन पछाडि पर्नुमा नेपाली कांग्रेसको आफ्नो घर बलियो हुँदाहुँदै अरूलाई टिकट दिँदाको प्रतिफल भएको उहाँको तर्क छ । दलहरूले विचार वा सिद्धान्त नै नमिल्नेसँग चुनावी तालमेल गर्नुले पनि जनतामा नैराश्यता बढाएको र त्यसको प्रभाव मतमा देखिएको उहाँको बुझाइ छ ।
पुराना दलप्रति जनताको आक्रोश बढेपछि मतदाताको प्राथमिकतामा स्वतन्त्र पार्टी
यसरी प्रमुख दलहरूका उम्मेदवारमाथि जनताकै विश्वास घटेपछि जनताहरूले स्वतन्त्र पार्टीलाई छानेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनेहरू पुरानै कांग्रेस तथा एमालेलाई भोट हाल्ने मतदाता हुन् । तर, खुलेर स्वतन्त्र पार्टी भनेर उनीहरू लागेको भने देखिँदैन । उनीहरूले आफ्नो पार्टी त्यागेका पनि छैनन् । तर, अहिलेको चुनावमा पार्टीका उम्मेदवारप्रति विश्वास नभएपछि विकल्पमा रहेको स्वतन्त्र पार्टीलाई जनताले मत दिएका छन् ।
दलहरू स्वार्थमा केन्द्रित हुँदा चितवनमा पार्टीप्रति नैराश्यता बढेको प्रष्ट देखिन्छ । दलका नेताहरूले निहित स्वार्थमा उम्मेदवारलाई टिकट दिएकाले पनि पार्टी कार्यकर्ताहरूले उम्मेदवारलाई सहयोग नगरेको देखिन्छ । त्यस्तै, पछिल्लो समय चितवनमा पार्टीहरूका सैद्धान्तिक प्रशिक्षणमा कमी आउनु र दलका नेताहरूमाथि निष्ठा र सैद्धान्तिक अडान नहुनुले मतदाताप्रति वितृष्णा पैदा गरेको हो । त्यसैको आक्रोशमा यसपालि जनताले परिवर्तनलाई नै अँगालेर स्वतन्त्र पार्टीलाई मत दिएको देखिन्छ ।
पार्टीप्रति झुकाव रहेका मतदाताहरूको बहुमत हुँदा पनि बहुमत र अल्पमतका आधारमा निर्वाचन जित/हारलाई आँकलन गर्न नमिल्ने सन्देश चितवनका मतदाताले दिएका छन् । उनीहरूले पार्टी त्याग नगरे पनि परिवर्तन चाहेको कुरा भोटमार्फत दर्शाएका छन् । यसर्थ चितवनमा अब कसका कति मतदाता छन् ? भनेर चुनावी परिणाम आँकलन गर्न अब पार्टी नै विश्वस्त छैनन् ।
रविको मिडिया क्रेजले पनि स्वतन्त्र पार्टी जित्नुको बलियो आधार
त्यसो त गत असारमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन चितवनमा बलियो छैन । सांगठनिक रूपमा चितवनमा स्वतन्त्र पार्टी विस्तार पनि हुन सकेको छैन । तर, पनि सांगठनिक संरचनाबिना नै जनताले यति धेरै भोट किन दिए ? भन्ने पनि आमचासो बढेको छ । यसो हुनुमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मिडिया क्रेज नै प्रमुख आधार बनेको देखिन्छ ।
लामो समय मूलधार पत्रकारितामा रहनुभएका स्वतन्त्र पार्टीका सभापति लामिछानेको बलियो मिडिया क्रेज छ । पछिल्लो समय नेपालमा मिडिया क्रेज ज्यादै बढिरहेको अवस्थामा मिडियामा उहाँको सक्रियताले निर्वाचनमा मत प्राप्त गर्न ठूलो भूमिका खेल्यो । कतिपय स्वतन्त्र उम्मेदवार मिडिया क्रेजकै कारण जितेको यसअघिको स्थानीय निर्वाचनले पनि देखाएको छ । यसर्थ मिडियाप्रति जनताको क्रेज बढेका कारण रविलाई जनताले साथ दिने एउटा बलियो आधार देखियो । उहाँले मिडियामा उठाउनुभएका विषयवस्तु र गर्नुभएका कामप्रति जनताको सहानुभूति बढेकाले पनि निर्वाचनमा उहाँलाई साथ दिनेहरूको संख्या धेरै भएको देखियो ।
त्यसैगरी, शालिकराम आत्महत्या दुरुत्साहन प्रकरणमा सरकार र प्रशासनले रविमाथि अन्याय गरेको भन्ने सन्देश आम जनतामा परेको थियो । चितवनमा रविलाई अन्याय भयो भन्ने त्यहीँका कतिपय जनताले रविको न्यायको याचनासमेत गरेका थिए । त्यो ‘सेन्टीमेन्ट’लाई ‘क्याच’ गर्न रवि लामिछाने सफल बन्नुभयो । उहाँलाई अन्याय भएको थियो विगतमा र यसपालि निर्वाचनमा न्याय गर्नुपर्छ भन्ने धेरै मतदाताहरूले चाहेर पनि रविलाई सहयोग गरेको देखिन्छ । यो सहानुभूतिको भोट तान्न पनि रवि लामिछाने सफल बन्नुभयो ।
दलहरू सच्चिनुपर्ने चितवनको सन्देश
यसरी चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी उदाएसँगै दलहरूलाई भने अब ठूलो चुनौती देखिएको छ । विगतमा राजनीतिक दलका नेतालाई व्यवस्थामाथि गाली गर्ने छुट भए पनि देश लोकतान्त्रिक गणतन्त्र बनिसकेपछि उनीहरूले जनतालाई गर्दै आएका वाचा पूरा नगरेका कारण मतदाता दलहरूप्रति असन्तुष्ट बनेका छन् । २०६२/६३ पछि दुर्भाग्य के भयो भने ठूलो संख्यामा युवा जनशक्ति एकदमै तल्लो किसिमको कामका लागि पलायन भएर विदेश जानुपर्ने अवस्था आयो । यसले गुँम्सिएर बसेको जनताको इच्छा, त्यसको प्रतिफलको पटाक्षेपचाहिँ अहिलेको चुनावमा देखियो ।
केही महिनाअघि मात्रै गठन भएको र थोरै गृहकार्यबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा केवल दलप्रतिको मात्रै नभई युवा उम्मेदवारप्रतिको आकर्षण पनि रहेको मान्न सकिन्छ । जनतामा ठूला पार्टीले राम्ररी काम गरेनन्, नेतृत्व बदलिएन, पुरानै नेतृत्व कायम भयो, पारदर्शिता कायम भएन भन्ने दिक्दारी जनतामा देखिए र प्रतिफलस्वरूप स्वतन्त्र पार्टीका युवा उम्मेदवारलाई चुने । यसर्थ यसपटक मतदाताले नयाँ आएको पार्टीलाई मात्रै भन्दा पनि उम्मेदवार हेरेर मत खसाल्ने प्रवृत्ति देखिएको सन्देश चितवनले दिएको छ । दलहरू सच्चिएर जनताको हितका लागि काम नगर्ने हो भने यसले दलहरूका लागि आउँदो चुनाव अझै चुनौतीपूर्ण हुने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच