छ महिनामा रोजगारीका लागि विदेशिए तीन लाख युवा

Read Time = 5 mins

काठमाडौं । गत छ महिनामा साढे तीन लाखभन्दा बढी युवा विदेशिएका छन् । वैशाखदेखि असोजसम्ममा तीन लाख ७२ हजार तीन सय ५४ युवाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको र दुई लाख ३९ हजार छ सय दुईजनाले पहिलो श्रम स्वीकृति लिएर विदेशिएका हुन् ।
कोरोना जोखिम घटेसँगै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या बढेको छ । वैशाखमा २१ हजार तीन सय १७ जनाले विभागबाट पहिलो श्रम स्वीकृति लिएका थिए भने जेठमा ३४ हजार ८७, असारमा ३९ हजार सात सय ४२, साउनमा ४२ हजार सात सय २९, भदौमा ५७ हजार छ सय ९३ र असोजमा ४४ हजार ३४ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

विभागबाट श्रम स्वीकृति लिएर रोजगारीमा गएका कामदारमध्ये अधिकांश मध्यपूर्व र मलेसिया पुगेका छन् । मध्यपूर्व र मलेसियामध्ये पनि धेरै कामदार मलेसियातर्फ गएका छन् । विगत छ महिनामा एक लाख २२ हजार छ सय १८ नेपाली कामदार मलेसिया गएका थिए । जुन विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको करिब ५० प्रतिशत हो ।

युनाइटेड अरब इमिरेट्स जाने नेपाली कामदारको संख्या २९ हजार पाँच सय ३५ रहेको छ भने दुई हजार सात सय ८६ जनाले बहराइन जानका लागि श्रम स्वीकृति लिएका छन् । २० हजार छ सय ५१ ले कुवेत, एक हजार छ सय ५६ ले ओमान र २८ हजार सात सय ७० युवाले कतार रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैशाखमा २१ हजार तीन सय १७ ले पहिलो श्रम स्वीकृति लिएका थिए भने जेठमा ३४ हजार ८७, असारमा ३९ हजार सात सय ४२, साउनमा ४२ हजार सात सय २९, भदौमा ५७ हजार छ सय ९३ र असोजमा ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई एक लाख ४७ हजार नौ सय पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार आठ सय ६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

कोरियन भाषा परीक्षामा आठ हजार बढी उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उत्तीर्ण भएका छन् । परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । २० भदौदेखि २१ कात्तिकसम्म उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षा सञ्चालन भएको थियो ।

इपिएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्न प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनुपर्ने जनाएको छ । राहदानीको म्याद कम्तीमा पनि एक वर्षको हुनुपर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवं सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल अनिवार्यरूपमा पेश गर्नुपर्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?