सांसदले सांसद बन्नुपर्छ, भेडाबाख्रा होइन

प्रा. डा. कुलप्रसाद कोइराला
प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायत दलले २०७८ र २०७९ सालमा आआफ्ना दलीय महाधिवेशन गरे । यी महाधिवेशनलाई महाधिवेशन भन्नु पर्दा ‘महाधिवेशन’ भन्ने शब्दको पनि अपमान भएको अनुभव गरे बौद्धिक समुदायले । प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र राष्ट्रिय एकता, विधिको सर्वोच्चता, कानुनीराज्य बहुलवादी दर्शनमा आधृत राजनीतिक पद्धतिको लागि आरम्भदेखि नै लागेको र विश्वले यस प्रतिबद्धतामा विश्वास पनि गरेको थियो । नेपाल विद्यार्थी संघको अध्यक्षसमेत भएर संघर्ष गर्दै आएको नेतृत्व जसले कुनै दिन पार्टी फुटाउने साहस पनि देखाएका थिए तिनले महाधिवेशन सारेको र अवधि सकिएपछि विभाग गठन गर्नेजस्ता हावादारी क्रियाकलाप प्रकट गर्दा पनि कांग्रेसका कार्यकर्ताले दह्रो गरी आवाज उठाउन सकेनन् ।

एक व्यक्ति मनपरीमा पार्टी परिचालित हुँदै आयो । लामो समयदेखि नेकामा चलेको खेमाबन्दी अनुसारका दुई खेमामध्ये संस्थापन इतर समूहमा रहेका व्यक्तित विशेषको अकर्मण्यता र ज्येष्ठताका दम्भले फेरि पनि निकम्मा नै विजयी बनेको आश्चर्यमय दृश्य पनि देखियो । धन, डन र ठेकेदारहरूमात्रै होइन धनका भरमा राजनीतिक तिहुन चखुवा उद्योगपति पनि पार्टीमा आएको देखियो भने मूल्यमान्यताको राजनीतिक आधारविनाका मान्छे, ज्युँदा मान्छेलाई भट्टामा पोल्ने, देशका महनीय जमिन बेचबिखन गर्ने मतियार पनि यस पार्टीका नेता बनेको एकातिर देखियो भने अर्कातिर कुनै व्यक्तिको अनुकूल नबन्दा निर्ममतापूर्वक पार्टीबाट आदरणीय व्यक्तिहरूलाई निष्काशन गरेको पनि देखियो ।

२००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो भने २०३६ सालको छात्रआन्दोलन नेपाल विद्यार्थी संघको नेतृत्वमा भए पनि पश्चगामी प्रवृत्तिका विद्यार्थी घुसेर त्यो आन्दोलनको नेतृत्व गरिरहेका बलबहादुर केसीलाई अभद्र व्यवहार पनि गरेका थिए ।

यसरी हेर्दा श्रीमद्भागवतको त्यो पात्रसँग वर्तमान नेतृत्व तुलनीय देखिन्छ जसले आफ्नी बहिनी र ज्वाइँलाई जेल हालेको थियो र ती जोडीबाट जन्मेका सन्तानले आँखा उघार्न नपाउँदै मार्ने गरेको थियो । जन्मदाता पितालाई कारागारमा बन्दी बनाएर आफू गद्दीमा बसेको थियो । पौरस्त्य जगत्का यस प्रकारका दुःखद् मिथक लगातार घटित हुँदा पनि त्यसलाई विस्थापन गर्न ठीक ढंगको प्रयास पार्टीभित्र भएको पनि देखिएन । यस प्रकारको प्रयत्नमा लागेका एकजनालाई परिवारका भाइबहिनीसमेत प्रतिकूल बनाएर त्यही कंस चरित्रले सताएको देखियो । आत्मदेवका कुलमा हुर्किएको धन्नुकारी चरित्र ज्येष्ठता र आफ्ना परिवारले त्यागमात्रै गर्नुपर्ने ? भनेर अत्तो थापेको पनि देखियो ।

अहिलेको पार्टीको ध्याउन्न भनेको सत्ता, शक्ति र धन कमाउने रहेको देखियो । विचार शून्य राजनीतिक यात्राको आरम्भ पनि यही नेतृत्वले गरेको पनि देखियो । अहं, उन्माद र दम्भी स्वभाव भएका एकजना व्यक्तिले झन्नै दुई तिहाइका नजिकको आफ्नो एकमना सरकार गैरसंवैधानिक किसिमले संसद्को गर्दनमा खड्ग प्रहार गरेर राजनीतिमा क्वाँटी चरित्रको आरम्भ गराउन अहं भूमिका निर्वाह गरेको पनि देखियो । उनको यो प्रकारको पाखण्डपूर्ण क्रियाकलापका विरुद्ध त्यही पार्टीका नेता, कार्यकर्ता कसैले पनि चुँ गर्न सकेको देखिएन । जजसले चुँ गरे तिनलाई पनि नृशंस र अविवेकपूर्ण किसिमले तिनको राजनीतिक जीवनलाई भूमिकाविहीन बनाउने काम हुँदा पनि नीति र न्यायका पक्षमा आवाज उठाउन नसक्नु कथित न्यायप्रेमीको अन्याय प्रेमले जग हँसाएको हँसाएकै छ ।

यसरी कथित न्यायप्रेमी र प्रगतिशील भनिएका राजनीतिक दल नेपालमा अन्याय, अत्याचार, अनीति र भ्रष्टाचारका पर्याय बनेको पनि देखियो । शैवालिक पर्वतमालाभन्दा दक्षिणतिरका भारतका सारा गतिविधिमा दख्खल राख्छन् तर नेपालका मौलिक पक्ष तिनलाई त्यति थाह छैन । यद्यपि त्यहाँका धेरै आर्यमूलका छन् । नेपालको पर्वतीय भूभागमा बसोवास गर्नेहरूमा भने आर्य, अनार्य मिसिएर बसेको देखिए पनि संख्या भने मंगोलियनकै धेरै रहेको देखिन्छ । पहाडी बसाइ कष्टकर भएको र कथित कम्युनिष्टहरू दुःखलाई नै संरक्षण गरी दुःखी, गरिब, निरीह र असाहायमाथि नै सुनौला र भड्किला नारा लाएर गरिबको मन आकर्षण गर्न सक्षम देखिँदै आएका पनि छन् ।

२००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो भने २०३६ सालको छात्रआन्दोलन नेपाल विद्यार्थी संघको नेतृत्वमा भए पनि पश्चगामी प्रवृत्तिका विद्यार्थी घुसेर त्यो आन्दोलनको नेतृत्व गरिरहेका बलबहादुर केसीलाई अभद्र व्यवहार पनि गरेका थिए । अहिले पनि नेपालका कम्युनिष्ट कहिले वन पसेर विनाश गर्छन् त शहरमा बसेर बतासे गफ गरेर गरिबीलाई उकेरा लाउँछन् । ‘अकबर र वीरबल’ भन्ने पुस्तकमा वीरबल र अकबरका आउरेबाउरेले जे गर्नलाउँथे गराउँथे त्यसैमा दुवै रमाए झैँ नेपालका वामलाई प्रजातान्त्रीकरण गर्ने अभियान काग न कुखुरो भएको देखिन्छ ।

गधालाई धोएर गाई बनाउन बसेको वीरबललाई अकबर भन्छन्-‘धोएर गधा पनि कतै गाई बन्छ उल्लू ?’ तत्कालै वीरबल जवाफ दिन्छन् ‘जन्मजात मुसलमानलाई कसरी हिन्दूको पनि सबैभन्दा उँचो जात बाहुन बनाउनु त मैले सरकार’ भनेर जवाफ लाएको पढेथेँ । नेपालको वामप्रजातान्त्रीकरणको उद्योग यस्तै रमाइलामा परिणत भएर खेर नजवास् । २०४६ सालको जनआन्दोलन प्रजातन्त्रवादीको नेतृत्वमा वाममोर्चाले सहयोगीको रूपमा काम गरेको थियो । आन्दोलन सफल भएपछि आन्दोलनका सर्वोच्च कमाण्डरले केही पद तिनलाई पनि छुट्याइदिएका थिए ।

ADVERTISEMENT

चुनाव आआफ्नै तागत र घोषणापत्रमा लडिएको थियो । ३२ वर्षे कालरात्रिलाई तोड्दा पनि यसरी निराश्रित गठबन्धन कांग्रेसले गरेको थिएन । विचार, दर्शन आर्थिक नीति परराष्ट्रनीति र सामाजिक सद्भावमा समेत आंशिक परिवर्तन हुने, स्थापित पद्धतिका विरुद्ध बोलिरहेका, शस्त्र उठाइरहेकासँग समेत गठबन्धन गरेर हाँस न कुखुराको चाल देखाइएको छ । कांग्रेसले जिते पनि हार्ने र हारे त हारि नै गयो के हो यो गठबन्धन ? जनता अवाक् बनेका छन् । एकजना व्यक्तिको सत्तालोभ र दुई तीनजनाको जुँगाको सानका लागि गरिएको यो गठबन्धन होइन उनीहरूको गोलबन्दी हो भनेर पनि अथ्र्याइएको देखिन्छ ।

चुनावपछि मुलुक झनै दलदलमा फस्ने सम्भावना देखिन थालेको छ । नेपाली कांग्रेसले एक सय पैंसट्ठी स्थानमा आफ्ना उम्मेदवार नउठाएर एकानब्बे स्थानमा मात्रै उठाएको छ । यसरी हेर्दा ७४ स्थानका कांग्रेसीले कित मुटुमाथि ढुंगो राखी हाँस्नु प¥यो कि त हिजोका दिनमा खोजी खोजी कांग्रेस सफाया अभियान चलाउनेलाई निर्लज्जतापूर्वक स्वीकार गर्नुपर्‍यो । ती ७४ स्थानमा वर्षौंदेखि त्याग तपस्या गरेका नेता कार्यकर्ता र प्रजातन्त्रवादी साथीहरू के वर्तमान सभापतिका शत्रु हुन् । विचार, दर्शन र भौतिक प्राप्तिविनाको यो गठबन्धन नामको गोलबन्दीमा लगेर वर्तमान नेपाली कांग्रेसका सभापतिले प्रजातन्त्रमात्रै होइन सिंगो देशलाई अँध्यारो सुरुङभित्र धकेलेको देखिन्छ ।

ओलीका प्रहारले तिल्मिलाएका माधव नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनालको बाध्यताका भुँमरीमा कांग्रेसलाई त्रिखुट्टी खेलको एउटा पक्ष बनाएका बेला यो पक्ष नरुचाउने कांग्रेसीले संयम नअपनाएको भए नेपाली कांग्रेस तेस्रो पल्ट फुट्ने थियो । बीपी र मातृका हुँदै २००९ सालमा पहिलो पल्ट फुटेको थियो भने दोस्रोपल्ट २०५९ सालमा वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले फुटाएका थिए । अहिले सभापतिले देखाएको सत्ता र शक्तिमोहको डिग्री नापेर डा.शेखरपक्षले संयम नअपनाएको भए नेपाली कांग्रेस तेस्रो पटक दुई चिरा भौतिक रूपमा नै हुनेथियो ।

अहिले देशमा प्रतिवर्ष १७ लाख युवक-युवती कामको खोजीमा बजारमा निक्लेका छन् । देशमा रोजगारीका अवसर नदेखेर आँखामा आँसु र छातीमा दुःखका गोला बोकेर दैनिक १५ हजारदेखि १७ हजार पढेलेखेका तरुणहरू विदेशिने गरेको तथ्यांक छ ।

यसको श्रेय भने शेरबहादुर र शेखर दुवैलाई बराबर दिनैपर्छ । मंसिर ४ गतेपछि भने फेरि नेपाली कांग्रेसमा राम्ररी सत्तासंघर्ष चल्ने स्थिति देखापरेको छ । अहिलेका प्रमुख पात्रहरू सत्ता भनेपछि जसरी पनि लिने चरित्रका छन् । सत्तामा टिक्नका लागि जे पनि गर्ने बहादुरहरू नेपाली राजनीतिमा प्रबल छन् । केही गर्ने अठोट र आँट, अनि निष्कलुष पारिवारिक संस्कार संस्कृतिबाट आएका नेता डा.शेखर कोइरालाले युवापुस्तालाई साथमा लिएर उनीहरूलाई नै अघि बढाएर एउटा नवमानक सिर्जना गरी देखाए भनेमात्रै त्यस्ता बहादुर सत्ताबाहिर पुग्ने सम्भावना देखिन्छ । यदि शेखर पनि संसदीय दलको चुनावमा जान तयार भए भने फेरि पनि नालायक बहादुरकै हालीमुहाली चल्नसक्छ ।

अहिले देशमा प्रतिवर्ष १७ लाख युवकयुवती कामको खोजीमा बजारमा निक्लेका छन् । देशमा रोजगारीका अवसर नदेखेर आँखामा आँसु र छातीमा दुःखका गोला बोकेर दैनिक १५ हजारदेखि १७ हजार पढेलेखेका तरुणहरू विदेशिने गरेको तथ्यांक छ । पार्टीका घोषणपत्र हेर्दा असम्भव, अपत्यारिला झुटका पुलिन्दामात्रै देखिन्छन् । कुनैपनि दलसँग भरपर्दो रोजगारी सृजना गर्ने योजना देखिँदैन । आर्यघाट पुगेर पनि एकपटक भनेर यमराजलाई पनि घुस खुवाएर आउन पाउने भए आउने थिएँ भनेर बोल्न लाज नमान्ने राजनीतिकर्मी छन् यस देशमा आज ।
यस प्रकारका गलत प्रवृत्तिबाट राजनीतिलाई शुद्धीकरण गर्न । (क) प्रथमोप्रथम बौद्धिकहरू भाडाका भारबाहक बन्न छाड्नुपर्छ र पार्टी सदस्यता त्यागेर सत्य बोल्न लेख्न र क्रियात्मक प्रतिरोधमा ओर्लन पनि तयार हुनुपर्छ । (ख) कर्मचारीले आफ्नो कर्मक्षेत्रमा रहेको काम आजको आजै सक्नथाल्नुपर्दछ । (ग) राजनीति कर्मीले पनि राजनीतिलाई गोरुले बाली पकाएका पारामा होइन, समाजसेवाका रूपमा लिनुपर्दछ । (घ) मतदाताले पनि आफ्नो मत दिँदा रक्सी, मासु, पैसा र झुट्टा आश्वासनमा बेचिएर होइन विवेकलाई साक्षी राखेर दिने गर्नुपर्छ । (ङ) ऐनकानुनलाई सही किसिमले पालन गर्नेगरी सरकार पनि परिचालित हुनुपर्दछ (च) सरकार टिकाउन संविधान मिचेर काम गर्ने दुःसाहसीलाई संसदमा पुग्नै दिनु हुँदैन ।

अहिले झापाका कुनै उम्मेदवार र सुदूरपश्चिम पहाडी जिल्लाका कुनै उम्मेदवार जसरी भए पनि सत्तामा लामो अवधि टिकिन्छ भने त्यसका लागि तयार हुने खालका छन् । तिनका चरित्रले त्यही देखाएको छ । अतः मतदान गर्दा ती-ती जिल्लाका मान्छेले बुद्धि पुर्‍याएनन् भने भोलि तिनले इतिहासलाई जवाफ दिनैपर्छ । नालायक र अत्याचारीलाई प्रतिनिधि छान्नेलाई इतिहासले के भन्ला भन्नुस् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?