नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखायो : ओली

‘जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनुपर्छ’

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताउनुभएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताउनुभएको हो । उहाँले भन्नुभयोे, ‘संसद्भन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङआउट गरिदिन्छौँ, सुन्दा पनि सुन्दैनौँ, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उदण्डता देखाउने ?’ सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीले बताउनुभयो । तर, अब विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर सत्तारूढ माओवादीका अध्यक्षले भनेका छन् नि ? भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् ।’ यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउनेछन् भनेर संशोधन ल्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।’ उहाँले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाउनुभयो । उहाँले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गर्नुभयो ।

‘देश भयावह अवस्थामा छ, मंसिर ४ मा गठबन्धनलाई रोक्नैपर्छ’
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नियमित प्रक्रिया मात्र नभएको बताउनुभएको छ । लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएको भन्दै उहाँले मंसिर ४ को चुनाव देशको भाग्य र भविष्यको फैसला गर्ने चुनाव भएको बताउनुभयो ।

चुनावबारे अनेक भ्रम फैलाइएको अध्यक्ष ओलीले बताउनुभयो । अहिलेको गठबन्धन सरकार कठपुतली सरकार भएको समेत उहाँले बताउनुभयो । गठबन्धन सरकार कस्तो चलेको छ भन्ने आफूले व्याख्या गर्नै नपर्ने उहाँको भनाइ छ । अहिलेको गठबन्धन पदको किनबेचमा लागेको बताउनुभयो । देशको अवस्था भयावह रहेको बताउनुभयो । अहिलेको अधोगतिलाई रोक्न नसके देश बर्बादीतिर जाने भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयो । ‘भयावह स्थितिमा देश छ । यदि हामीले यो अधोगतिलाई रोक्न सकेनौँ भने देश बर्बाद हुन्छ । लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन । यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ ।’

सत्ता गठबन्धनका नेताहरू जसरी पनि गठबन्धन जोगाउने र जे गरे पनि हुन्छ भनेजसरी हिँडेको उहाँले आरोप लगाउनुभयो । ‘अहिले जे गरे पनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ । सबैतिर त्यही हुँदै गएको छ,’ ओलीले भन्नुभयो । गठबन्धन सरकारका कारण देशमा महँगी बढेको, विश्वविद्यालयमा लगातारको तालाबन्दीले विद्यार्थीको भविष्य अन्योलमा परेको समेत उहाँले बताउनुभयो । गुरुलाई बाटो छेकेर घाइते बनाउने गुण्डाहरूलाई कांग्रेसको लेटरप्याडमा मुद्दा नहाल्नु भनेर उर्दी जारी गर्ने काम भएको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयो । गृहमन्त्रीको संरक्षणमा त्रिविमा तालाबन्दीलगायत गतिविधि भएको बताउनुभयो ।

ADVERTISEMENT

अर्थमन्त्रीको संरक्षणमा अर्थतन्त्र ध्वस्त भइरहेको बताउँदै अध्यक्ष ओलीले कानुनमन्त्रीको संरक्षणमा कानुनीराज ध्वस्त बनाइदिने काम भइरहेको बताउनुभयो । यी तमाम क्रियाकलाप रोक्नका लागि मंसिर ४ को चुनावले सही फैसला लिनुपर्ने बताउनुभयो । सही फैसला भनेको शान्ति सुव्यवस्था र स्थिरताको पक्षमा रहेको सरकार बनाउनुपर्ने र त्यो भनेको एमालेको सरकार भएको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस बिरामीले नाकमा अक्सिजन लगाएको जसरी चलेको छ । प्रचण्ड नामको अक्सिजन लगाएको छ । प्रचण्डलाई कांग्रेसको पछि लाग्नुबाहेक अरू विकल्प छैन । माधव नेपालको चर्चा गरेर धेरै महत्व दिनु पर्दैन यो चुनावसम्म उहाँले नक्कली सिगौँरी खेल्दै हुनुहुन्छ । अलिअलि भुइँ खोस्रिनुहुन्छ । चुनाव भएपछि सबै साफ हुन्छ ।’

‘निर्वाचनका समयमा आयोगले प्रशासन आफ्नो हातमा लिनुपर्छ’
एमालेका अध्यक्ष ओलीले निर्वाचनका समयमा निर्वाचन आयोगले प्रशासन आफ्नो हात लिनुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा आयोगले धाँधली रोक्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘आयोग कमजोर देखियो, धाँधली रोक्न सकेन । निर्वाचनका समयमा प्रशासन आफ्नो हातमा लिन सकेनन् ।’

निर्वाचनका समयमा आयोगले प्रशासन आफ्नो हातमा लिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘सिडिओले सञ्चालन गर्ने होइन ।’ सत्ताको आदेश पालना गर्ने तरिकाले निर्वाचन कसरी सम्पन्न हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘मनपरी तरिकाले राज्य संयन्त्र सञ्चालन गर्ने राजनीतिक दल अहिले सत्तामा रहेको देखिदेखि आयोगले प्रशासन आफ्नो हातमा लिनु परेन ?’ प्रशासनको सञ्चालन निर्वाचन आयोगले आफ्नो हातमा लिएर न्यायाधीशमार्फत निर्वाचनको विधिबाट कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सकिन्छ त्यतातिर आयोगले ध्यान दिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?