विगतमा फर्निचर तथा फर्निसिङलाई विलासिताका वस्तुका रूपमा लिइने गरिएकोमा पछिल्लो समय शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत यसको प्रयोग बढेर गएको छ । तथापि फर्निचरको आन्तरिक उत्पादनको अवस्था भने सन्तोषजक छैन । सरकारको आयातमुखी नीति, मुख्य कच्चा पदार्थ काठ अभाव, स्वदेशी उत्पादनप्रतिको उपेक्षालगायतका कारण नेपाली फर्निचर उद्योगले अपेक्षाअनुसार गति लिन नसकेको सम्बद्ध व्यवसायीले गुनासो गर्दै आएका छन् । भनिन्छ, हरियो वन, नेपालको धन तर हरियो वनको उचित व्यवस्थापन गर्न नजान्दा वनबाट देश धनी बन्न सकेको छैन । केही सीमित व्यक्ति तथा समूहले मात्रै नेपालको वनबाट लाभ लिइरहेको देखिएको छ । स्वदेशी काठ सर्वसुलभ नहुँदा फर्निचरमात्र नभई काठसमेत विदेशबाट आयात हुने गरेको छ । सोही सन्दर्भमा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो अवसरमा आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
फर्निचर तथा फर्निसिङ व्यवसायको अवस्था कस्तो छ ?
पछिल्लो समय कोरोनाका कारण अन्य क्षेत्रजस्तै फर्निचर तथा फर्निसिङ क्षेत्र पनि प्रभावित भएको छ । कोरोनाअघिको तुलनामा व्यवसाय धेरै खस्किएको छ । कारोबार खासै नघटे पनि बढेको पनि छैन । त्यसैले ग्रोथ नहुनु भएकै घट्नु नै हो ।
भनेपछि कोरोनापछि फर्निचर तथा फर्निसिङको आन्तरिक उत्पादन पनि घटेको छ, आयात पनि घटेको छ ?
हो, अहिले दुवै घटेको छ । हामीले यस क्षेत्रमा वार्षिक ६० अर्ब रुपैयाँको कारोबार हुन्छ भन्दै आएका थियांै । विगत तीन-चार वर्षदेखि त्यो बढेको छैन, यथास्थितिमै रहेको छ । कोरोनाअघि फर्निचर तथा फर्निसिङको वार्षिक कारोबारको वृद्धिदर १० देखि १५ प्रतिशतसम्म रहेको थियो ।
फर्निचर तथा फर्निसिङमा स्वदेशी उत्पादनको अवस्था कस्तो छ ?
वार्षिक ६० अर्बको कारोबारमा ३० अर्ब स्वदेशी उत्पादनकै कारोबार हुने गरेको छ । स्वदेशी उत्पादनमा कार्पेट, प्लाष्टिक फर्निचर, डोरम्याट, स्टिल फर्निचरमा भने हामी आत्मनिर्भर भइसकेका छौं । उल्लेखित वस्तुको खासै आयात छैन ।
स्वदेशी फर्निचर अर्थात् काठबाट निर्मित फर्निचरको अवस्था कस्तो छ ?
काठबाट निर्मित स्वदेशी फर्निचरको अवस्था राम्रो छैन । फर्निचरको मुख्य कच्चा पदार्थ काठ नै हो, जसको हाम्रो देशमा कुनै कमी छैन । तर, हामी काठ नै पाउँदैनन् । पाए पनि आयातित काठभन्दा महँगो पर्न जान्छ । जसका कारण उत्पादन लागत बढी पर्छ । फर्निचर व्यवसायीले प्रत्यक्षरूपमा काठको टेण्डर प्रक्रियामा भाग लिन पाउँदैनन् । अरू व्यवसायीबाट काठ खरिद गरेर काम गर्नुपर्दा उत्पादन महँगो पर्ने नै भयो । त्यसैले त हामीले भन्दै आएका छौं कि हामीमाथि सरकारले विभेद गरेको छ । यदि फर्निचर व्यवसायीले पनि सरकारी टेण्डरमा भाग लिन पाउने र काठ आपूर्ति सहज हुने हो भने हामी फर्निचर निर्यातसमेत गर्न सक्छौं ।
फर्निचर तथा फर्निसिङमा प्रविधि प्रयोगको अवस्था कस्तो छ ?
यसमा नयाँ-नयाँ प्रविधि भित्रिएका छन् । विश्व बजारमा विकास भएका पछिल्ला प्रविधि हामीसँग छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोगमा ल्याएका फर्निचरहरू हेर्नुभयो भने पनि तपाईले थाहा पाउन सक्नुहुन्छ, उनीहरूले स्वदेशी फर्निचर नै प्रयोग गर्ने गरेका छन्, जुन विदेशी फर्निचरभन्दा कम छैनन् । फर्निचरको फिनिसिङ पनि त्यत्तिकै आकर्षक छ । त्यसैले प्रविधिमा समस्या छैन, कच्चा पदार्थमा मात्रै समस्या हो ।
प्लाइउड उद्योगको अवस्था ?
प्लाइउड उद्योगको अवस्था नेपालमा राम्रो छ । किनभने प्लाइउड उद्योगले प्रत्यक्षरूपमा सरकारी टेण्डरमा भाग लिन पाउँछन् । वन पैदावार उद्योग प्लाइउड उद्योगीले मात्रै टेण्डरमा भाग लिन पाउने, हामीले नपाउने भनेको हामीमाथि विभेद नै हो ।
भनेपछि सरकारले भने जस्तो हरियो वन, नेपालको धन बन्न सकेन ?
बनेको छ तर केही सीमित व्यक्ति तथा समूहका लागिमात्रै । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रले डेढ लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । नीतिमा सुधार भएमा अझै पनि लाखौं रोजगारी सिर्जना हुनसक्छ तर पनि सरकारको यसमा चासो छैन ।
वनबाट सीमित व्यक्तिले फाइदा लिएका छन् ।
कोरोनापछि व्यवसाय खस्किएको छ ।
कार्पेटमा नेपाल आत्मनिर्भर भइसकेको छ ।
स्वदेशी वस्तु प्रयोगको नीति कागजमै सीमित छ ।
नेपालको काठ महँगो हुँदा फर्निचर आयात भएको हो ।
वार्षिक ६० अर्बको कारोबार हुने गरेको छ ।
नेपालमा फर्निचर उद्योगको भविश्य राम्रो छ ।
स्वदेशी फर्निचर तथा फर्निसिङको प्रवद्र्धनका लागि के गर्नुपर्छ ?
सबैभन्दा पहिले त फर्निचरको मुख्य कच्चा पदार्थका रूपमा रहेको काठ सहजरूपमा सरकारले उपलब्ध गराउनुपर्छ । अर्को कुरा, अहिले फर्निसिङको कच्चा पदार्थ र आयातित सामग्रीको आयात भन्सार दर लगभग उस्तै छ । आयातित कच्चा पदार्थमा भन्सार दर घटाउने र तयारी वस्तु आयातमा भन्सार दर घटाउनुपर्छ । त्यसैगरी सरकारी निकायहरूमा स्वदेशी फर्निचर तथा फर्निसिङ नै प्रयोग गर्ने नीतिगत व्यवस्था हुनुपर्छ । नीति त छ तर कार्यान्वयन छैन । सरकारले आयातित वस्तुभन्दा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने भने पनि त्यो कागजमा मात्रै सीमित देखिएको छ । उल्लेखित व्यवस्था कार्यान्वयनमा ल्याउने हो भने नेपाल फर्निचर तथा फर्निसिङ क्षेत्रमा ठूलो लगानी आउन सक्छ ।
प्रदर्शनीको आकर्षणमा के रहेको छ ?
भृकुटीमण्डपमा सुुरु भएको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो लाई सबैले उत्साहजनक रुपमा हेर्नुभएको छ । पाँच दिनसम्म चल्ने एक्स्पोको बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नुभएको छ । एक सयभन्दा बढी स्टलमा किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनी आकर्षणका रूपमा रहेका छन् ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजी पे रहेको छ भने नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच