काठमाडौं । सत्ता गठबन्धनको चुनावी सिट बाँडफाँटका सम्बन्धमा बनेको कार्यदलको बैठक मंगलबार पनि बिना निष्कर्ष सकिएको छ । गठबन्धनका शीर्ष नेताहरूले कार्यदललाई मंगलबारसम्म सहमतिको खाका तय गर्न जिम्मेवारी दिएका थिए । तर, मंगलबार साँझ बसेको गठबन्धनका शीर्ष नेतासहितको कार्यदलको बैठकले त्यसबारे अन्तिम सहमति जुटाउन सकेन । बुधबार फेरि बस्ने गरी बैठक सकिएको छ ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक ढंगले अघि बढिरहेको र बुधबारसम्म प्रतिवेदन तयार गरिने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले अब बुधबार प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने बताउनुभयो । ‘भोलि नै कार्यदलले प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई दिनेछ’ उहाँले भन्नुभयो । ‘कति सिटमा सहमति भयो ’ सञ्चारकर्मीले प्रश्न गर्दा उहाँले भन्नुभयो, ‘अहिले त्यो भन्न हतार हुन्छ । गठबन्धनका शीर्ष नेताहरूले हामीलाई जुन जिम्मेवारी दिनुभएको हो, त्यो पूरा गर्ने चरणमा पुगेका छौँ । सहमतिका विभिन्न मोडेलमा छलफल भएको छ । अब त्यसलाई प्रतिवेदनको ढाँचामा लिपिबद्ध गर्ने काम सुरु भएको छ ।’
उहाँले कार्यदलको बुधबार साँझ ५ बजे फेरि बैठक बस्ने र त्यो बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनुभयो । ‘हामीले कार्यदलमा एउटा खाका बनाएका छौँ, त्यो खाकामाथि बुधबारको छलफलले अन्तिम रूप दिन्छ, त्यसपछि त्यो शीर्ष नेताहरूलाई हाम्रो प्रतिवेदन बुझाउँछौँ,’ मन्त्री कार्कीले भन्नुभयो । उहाँले अहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँटबारे छलफल भएको, र त्यसपछि प्रदेशसभाको विषयमा छलफल हुने बताउनुभयो । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तल्लो तहवाट धमाधम सिफारिस आइरहेको छ । नेकपा (एमाले)ले पनि सिफारिस लिन थालेको छ । असोज २ गते निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूचीमा रहेका नामहरू बुझाउनु पर्नेछ । आगामी मंसिर ४ को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल एक महिनादेखि सिट बाँडफाँटको छलफलमा छन् । तर, त्यसबारे सहमति भने हुन सकेको छैन ।
कांग्रेसले ८० र माओवादीले ६० को हाराहारी सिट पाउने संभावना छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताउनुभएको हो । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बुधबार शीर्ष तहका नेताहरू बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिनुभएको हो । उहाँले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई मंगलबार बेलुकीसम्मको समय दिइएको पनि बताउनुभयो । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उहाँले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।
यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे पनि ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताउनुभयो । ‘उहाँहरूले सुरुमा सय भन्नु भएको थियो, तपाईंले सुन्नु भएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ,’ प्रचण्डले भन्नुभयो । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उहाँले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने प्रयास भइरहेको बताउनुभयो । प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उहाँले भन्नुभयो, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ ।’
सिट बाँडफाँडको विषय पेचिलो बनेको छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने प्रश्न उठ्ने गरेको स्वीकार गर्नुभयो ।
पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयोे, ‘अब हामीले चुनावमा लाग्नुछ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अब काठमाडौं र सदरमुकाममा बस्ने होइन । अब बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन ।’ उहाँले नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच