एमालेले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक, अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी रणनीति बनाउनका लागि स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बिहीबार बसेको सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीका लागि तीनै तहको बैठक बोलाएको हो । गुरुङका अनुसार ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

यस्तै, बिहीबार बसेको सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेखनको लागि आठ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल रहनुभएको छ ।

त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ । गुरुङका अनुसार ओलीको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारीलाई पनि राखिएको छ ।

गुरुङका अनुसार निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्का सदस्यहरूलाई पनि ओली नेतृत्वको कमिटीमा राखिएको छ । त्यसैगरी, केन्द्रीय विभागका सचिवहरूलाई पनि परिचालन कमिटीमा राखिएको छ । त्यस्तै, यो कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरू र जनसंगठनका अध्यक्षहरूलाई पनि राखिएको छ ।

ADVERTISEMENT

प्रमुख गुरुङले विभिन्न १५ विभागका सचिवहरू पनि मनोनयन गरेको बताउनुभयो । विभागका सचिवमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ । त्यस्तै, बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभागको गठन गरेको गुरुङले जानकारी गराउनुभयो ।

उहाँले बैठकले स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित गरेको, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रस्तावित आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट पनि पारित गरेको बताउनुभयो ।

विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरूको सन्दर्भमा आवश्यकताअनुसार तल्लो कमिटीहरूले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने निर्णय भएको पनि बताउनुभयो । बैठकले केही केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । जसमा मधेश प्रदेशको सह-इञ्चार्जमा रामदल मण्डल तोकिनुभएको छ भने महोत्तरी जिल्लाको इञ्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सह-इञ्चार्ज तोकिएको छ । त्यस्तै, भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की जिल्लाको इञ्चार्जमा कृष्ण थापालाई तोकिएको उहाँले बताउनुभयो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार बिहीबारको बैठकले नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको छ । गुरुङले अहिलेसम्म एमालेले गठबन्धनबारे नसोचेको भएकाले छलफल नै नगरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?