काठमाडौं । नेवार समुदायले आज घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै यो पर्व मनाउने गरेका छन् ।
वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।
आज उनीहरूले आफ्नो घरगृहमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा गर्दछन् । सो समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ ।
घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडा)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।
बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम कली (खुट्टामा लगाउने गोलाकार) वा तामाको औँठी लगाइदिने चलन पनि छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने, हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ ।
त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौं, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने प्रचलनसमेत रहेको छ ।
घण्टाकर्ण चतुर्दशी दिन बच्चा भूतदेखि नडराउन्, रुन्चे नलागोस् भनी टोलटोलमा रहेको छवासमा गथामुंगःलाई आगो तपाउन सकेपछि घुमाइघुमाई आगो तपाउने प्रचलन छ । आजको दिन गथामुगः दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । गथामुंगःको दिन सिनाज्या मनाउन घरआँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको सङ्ख्या पनि कम हुने र लामखुट्टेको टोकाइसमेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच