सिंहदरबार घेर्ने बजेटपीडित उद्योगीको चेतावनी

Read Time = 3 mins

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी बजेटबाट प्रभावित स्वेदशी उद्योगी व्यवसायीले बजेट तत्काल सच्याउन माग गर्दै नसच्याए मजदुरसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

स्यानेटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र स्टिल उद्योगी किरण साखःले माग पूरा नभए उद्योगमा कार्यरत मजदुरसहित केही दिनभित्रै छ हजारसहित सबै उद्योगीले संसद् भवन र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ । संघका अध्यक्ष अधिकारीले स्वदेशी उद्योगलाई पूर्णरूपमा धरासायी बनाउने नीति सरकारले लिएको भन्दै देश स्यानेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै पनि विदेशी उत्पादन भित्र्याउने नीतिका कारण नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्यानेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशतले घटाएर १.५ प्रतिशत कायम गरेको छ । साखः स्टिलका सञ्चालक किरण साखःले केही उद्योगलाई छुट दिएर २४/२५ वटा स्वदेशी डण्डी उद्योग बन्द गर्ने खालको बजेट आएको गुनासो गर्नुभयो । सरकारले नेपाली उद्योगबाटै बिलेट दिने बताए पनि त्यो महँगो पर्ने भएकाले उद्योग सञ्चालन सम्भव नरहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयारी मालमा अन्तःशुल्क बढाउनुपर्ने आफूहरूको माग भए पनि सरकारले बेवास्ता गर्दै आएको साखःको भनाइ छ । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै गलत नीति तत्काल सच्याउन पनि उहाँले माग गर्नुभयो ।

साखःका अनुसार सरकारले पोस्न खोजेका छवटा उद्योगमा अम्बे स्टिल, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपति रहेका छन् । धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्तःशुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै उहाँले सम्बोधन नभए पुराना पीडित उद्योगी र नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगी मिलेर संयुक्तरूपमा आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?