
काठमाडौं । नेकपा माओवादी केन्द्र अन्तरविरोधमा फसेको छ । विगत नौ वर्ष लगातार सत्तामा रहेको माओवादी केन्द्र गएको साउनदेखि सत्ताविमुख मात्र भएको छैन, आन्तरिक कलह र विवादको भुमरीमा समेत फसेको छ । सरकारबाट हटेपछि बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा पार्टीभित्रको अन्तरविरोध कति चर्को छ भन्ने प्रष्ट देखियो । पार्टीका दुई प्रभावशाली नेता उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले नीति र नेतृत्व परिवर्तनको मुद्दा उठाएसँगै माओवादी ठीक ढंगले चलेकोमा आशंका गर्ने प्रशस्त आधार छन् । पार्टी संगठनमा बलियो प्रभाव रहेका उपमहासचिव शर्माले लिखित रूपमै नेतृत्वप्रति प्रश्न उठाएसँगै ३५ वर्षदेखि एकछत्र राज गरिरहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी सत्ताको कुर्सीसमेत हल्लिएको छ । विश्वास गरेकै नेताबाट आफूमाथि खतरा देख्नुभएका प्रचण्ड वर्तमान नेतृत्व निर्विकल्प रहेको छ भन्ने भाष्य निर्माण गर्न अनेक उपाय अपनाइरहनु भएको छ ।
सत्तामा रहेको समय पार्टी बैठक र संगठनलाई तिलाञ्जलि दिनुभएका प्रचण्ड सत्ताबाट बाहिरिएपछि एकपछि अर्को बैठक राखिरहनु भएको छ । सरकारबाट बाहिरिएलगत्तै अध्यक्ष प्रचण्डले पार्टी कमजोर हुनुका कारण, आन्तरिक समस्या समाधान र आगामी रणनीति तय गर्न भन्दै पार्टी पदाधिकारी बैठक र स्थायी कमिटी बैठक बोलाउनुभयो । पार्टीको उच्च तहका ती बैठकमा अनपेक्षित प्रश्नको सामना गर्न पुग्नुभएका प्रचण्डले आफूमाथि लागेका आरोप निष्प्रभावित बनाउन प्रदेश परामर्श समितिको बैठक आहृवान गर्नुभयो ।
गत बुधबार बागमती प्रदेशबाट सुरु भएको प्रदेश परामर्श समितिको बैठक शनिबारसम्म दुई गैरभौगोलिक प्रदेश परामर्श समितिको बैठक पनि सम्पन्न भइसकेको छ । चाहे पदाधिकारी र स्थायी कमिटी बैठक होस् वा प्रदेश परामर्श समितिको बैठक नै, माओवादी केन्द्रको बैठकको दृश्य हेर्दा अहिले पार्टी अनौठो विरोधाभाषमा फसेको देखिन्छ । एकातिर प्रचण्डको विकल्प उहाँ स्वयंले मात्र सोच्न सक्ने अवस्था र अर्कोतिर जस्ताको तस्तै उहाँकै नेतृत्वमा अगाडि बढ्न पनि नसकिने अवस्था देखिएको छ । साढे तीन दशकभन्दा बढी समय नेतृत्वमा रहेर पार्टीभित्र प्रचण्ड यति शक्तिशाली छन् कि प्रचण्डको विकल्प अहिले प्रचण्डले मात्रै सोच्न सक्ने अवस्था छ । आफ्नो विकल्प अरूले सोचे मात्रै पनि नेतृत्व चयनको प्रक्रिया नै अवरुद्ध गरिदिनसक्ने हैसियत प्रचण्डको छ ।
तर, अर्कोतिर यथास्थितिमा अर्थात् नेतृत्व र संगठन नसुधारी पार्टीको ओरालो यात्रा पनि रोकिने अवस्था छैन । अहिले प्रश्न गर्न सिकाएर जन्मिएको पार्टीभित्रै प्रश्नहरू वर्जित गरिएको अवस्था माओवादीमा देखिएको छ । अहिले त अलिकति आलोचनात्मक चेतसहित नेतृत्वलाई प्रश्न गर्यो भने उपमहासचिव जनार्दन शर्माको क्याम्पमा उभियो भन्ने सन्देश जाने अवस्था रहेको माओवादीकै नेताहरूको भनाइ छ ।
बुधबार र बिहीबार बसेको बागमती प्रदेश परामर्श समितिको बैठकमा जसरी प्रस्तुत भए पनि अधिकांश नेताहरूले पार्टी समस्या रहेको र तिनको हल ठीकसँग हुन नसकेको स्वीकार्दै समाधानका लागि एकताबद्ध हुन नेतृत्वलाई आहृवान गरेका थिए । त्यसो त बागमती प्रदेश परामर्श समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकबाटै नेतृत्वको विवाद खारेज गरेको घोषणा गर्नुभएको थियो । तर, परामर्श बैठकको नाममा नेताहरूलाई परेड खेलाएर पार्टी नेतृत्वले विभाजनको बिउ रोपेको माओवादी नेताहरूको आरोप छ । केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूले माओवादीभित्र आन्तरिक एकता बलियो बनाएर जान नेतृत्वलाई आग्रह गरेका छन् । दुईवटा गैरभौगोलिक समन्वय समिति उपत्यका र समन्वय विशेष प्रदेशको शुक्रबार र शनिबार बसेको परामर्श बैठकमा पनि नेताहरूले पार्टी सडकमा पुगेको बेला आन्तरिक एकता गरेर जान नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरूले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । व्यापक रूपमा पार्टी निर्माण र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर नभए पार्टी नै समाप्त हुने उनीहरूको तर्क छ । बैठकपछि पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिनुभयो । पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको सापकोटाको दाबी छ ।
नेकपा एसको केन्द्रीय कमिटीको पूर्ण बैठक आजबाट
नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आज (आइतबार) देखि सुरु हुँदै छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आहृवान गरिएको नेकपा एसले जनाएको छ । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक मंगलबारसम्म चल्नेछ । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिने बताइएको छ ।
बैठकले केही नेताहरूको जिम्मेवारी पनि हेरफेर गर्नेछ । केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउने बताइएको छ ।
बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले युवा, दलित, जनजाति, अल्पसंख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।
जसपा नेपालको अभियान आज उद्घाटन हुँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ आज (आइतबार) उद्घाटन हुँदै छ । बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्नेगरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज अभियानको उद्घाटन गर्न लाग्नुभएको हो ।
काठमाडौंबाट चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत संगठन निर्माण अभियान प्रारम्भ हुनेछ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेश प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौँडा समेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोशी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी, लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरूलाई अभिमुखीकरणमा सहभागी गराइनेछ । गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच