पन्ध्रहजार किसानको भविष्य बन्ला त कञ्चनबाँध ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-चन्द्रकान्त खनाल

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा, मायादेवि र कञ्चन गाउँपालिकाका कृषकहरूलाई अब सिँचाइ गर्न समस्या नहुने भएको छ। पानीको कारण हिउँद वा वर्षा दुबै समयमा खेतीपाती तथा सिँचाइको समस्या रहेका यी क्षेत्रमा अब समस्या समाधान हुने भएको हो।

उक्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने उद्देश्यका साथ गत बिहीबार कञ्चन बाँध सिँचाइ आयोजनाको उद्घाटन गरिएको छ। संघीय सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले कञ्चनबाँध सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको हो।

करिब १३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी पुर्याउने र त्यहाँबाट सिँचाइ योजनाहरू सञ्चालन गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको सभापति शाहले बताउनुभयो ।

२०७२ सालमा सुरु गरिएको उक्त सिँचाइ आयोजना ७ वर्षमा सम्पन्न भएको छ। उक्त आयोजनाबाट रुपन्देहीको लुम्बिनी नगरपालिकाका अतिरिक्त गैडहवा, कञ्चन र मायादेवी गाउँपालिकाका धेरै वडामा सिँचाइ सुविधा उपलब्ध हुने छ ।

कञ्चन बाँधबाट अब रुपन्देहीको दक्षिण पश्चिम क्षेत्रको करिब पाँच हजार बढी विगाहा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने भएको छ । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहका अनुसार रुपन्देहीका ग्रामीण क्षेत्रमा धेरै पुल र सडकहरू बने पनि सिँचाइ गर्ने बाँधको अभावमा खेतहरू धेरै बाँझै रहन्थे तर अब भने कञ्चनबाँधले यस क्षेत्रका किसानलाई धेरै सुविधा पुर्याउने छ ।

अब सबै क्षेत्रमा सिँचाइ सुविधा भए पछि आकासेपानीको भर पर्नुपर्ने अवस्था नरहने शाहले बताउनुभयो । लुम्बिनी र गैडहवा क्षेत्रका स्थानीयहरूलाई यसबाट सबैभन्दा बढी फाइदा हुने छ भने मायादेवि र कञ्चन गाउँपालिकाका केही वडालाई पनि सिँचाइमा राहत पुग्ने रुपन्देही क्षेत्र नं ५ का सभासदसमेत रहेका शाहले बताउनुभयो ।

ADVERTISEMENT

लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दीन खानले सिँचाइ बिना अन्न उत्पादन हुन सक्दैन भन्दै अन्य भौतिक पूर्वाधार जस्तै सडक बनाउनुभन्दा पहिले सिँचाइ आयोजना बनाउनु जरुरी छ रहेको बताउनुभयो । उहाँले आफूले सिँचाइलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिँचाइको अभावका कारण कृषि उत्पादन प्रभावित भएकाले अब सिँचाइ व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘कृषक’का लागि सिँचाइ पहिलो आवश्यकता हो ।’

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिमा आत्मनिर्भर हुन नसकिएको भन्दै अझै पनि पानीको अभावमा खेतहरू बाँझो रहने गरेकाले सिँचाइको व्यवस्था गरेर कृषिलाई समृद्ध बनाउनु पर्ने बताउनुभयो ।

स्थानीय रामनारायण लोधले पानीकोे अभावमा कृषि सिँचाइ गर्न समस्या थियो अब पानी आएपछि सहज हुने विश्वास बढेको बताउनुभयो ।

यसैगरी कञ्चन बाँध सिँचाइ आयोजनाबाट त्यस क्षेत्रका करिब १५ हजार कृषक लाभान्वित हुने अनुमान गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभयो । बाँधबाट उक्त क्षेत्रमा पानी लैजानको लागि अझै करिब ५ करोड रुपैयाँ आवश्यक रहेको र त्यो व्यवस्था मिलाउने सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले बताउनुभयो ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?